हरित उद्यममा वित्तीय पहुँच विस्तार गर्न कुमारी बैंक र हेल्भेटासबीच सहकार्य

२०८३ भदौ ०४ गते

हरित उद्यममा वित्तीय पहुँच विस्तार गर्न कुमारी बैंक र हेल्भेटासबीच सहकार्य

काठमाडौं । कुमारी बैंक लिमिटेड र हेल्भेटास स्विस इन्टरकोअपरेसन नेपाल ९हेल्भेटास नेपाल०बीच हरित उद्यम तथा हरित मूल्य शृङ्खलामा संलग्न व्यवसायको वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ।

 

Advertisement:

Ad
Ad

सम्झौताअनुसार नेपालको उदीयमान हरित अर्थतन्त्रमा संलग्न सूक्ष्म उद्यमी, कृषक, युवा उद्यमी तथा मूल्य शृङ्खलामा आबद्ध अन्य व्यवसायलाई वित्तीय पहुँच विस्तार गर्नुका साथै व्यवसाय विकाससम्बन्धी सहयोग उपलब्ध गराइनेछ।

 

समझदारीपत्रमा कुमारी बैंकका प्रमुख मार्केटिङ तथा लगानी अधिकृत चन्दन कार्की र हेल्भेटास नेपालका कन्ट्री डाइरेक्टर मनीष प्रधानले हस्ताक्षर गरेका छन्। सहकार्यअन्तर्गत हरित उद्यम तथा हरित मूल्य शृङ्खलामा आधारित व्यवसायलाई वित्तीय स्रोतमा पहुँच पुर्‍याउनुका साथै वित्तीय स्रोतको प्रभावकारी उपयोग र व्यवसाय सञ्चालन क्षमता अभिवृद्धिमा समेत जोड दिइनेछ। यसले बैंकिङ सेवा, उद्यम विकास तथा मूल्य शृङ्खला वित्तीयकरणलाई एकीकृत गर्ने अपेक्षा गरिएको छ।

 

कुमारी बैंकका दिगो बैंकिङ प्रमुख अर्पण पौडेलले हरित उद्यम विकासका लागि वित्तीय स्रोतसँगै व्यवसायिक क्षमता विकास पनि आवश्यक रहेको बताए। उनका अनुसार बैंक र हेल्भेटासको सहकार्यले हरित तथा जलवायु–उत्थानशील व्यवसायलाई वित्तीय रूपमा दिगो बनाउन तथा रोजगारी, नवप्रवर्तन र स्थानीय आर्थिक विकासमा योगदान पुर्‍याउन सहयोग गर्नेछ।

 

यस सहकार्यबाट वित्तीय संस्था, उद्यमी, कृषक तथा हरित मूल्य शृङ्खलामा संलग्न अन्य सरोकारवालाबीच सम्बन्ध थप सुदृढ हुने अपेक्षा गरिएको छ। विशेषगरी वित्तीय पहुँचबाट वञ्चित वा सीमित पहुँच भएका सूक्ष्म उद्यमी, कृषक तथा युवाद्वारा सञ्चालित व्यवसायलाई औपचारिक वित्तीय प्रणालीसँग जोड्न सहयोग पुग्ने विश्वास गरिएको छ।

 

कुमारी बैंकले आफ्नो शाखा तथा सेवा सञ्जालमार्फत सहकार्यका कार्यक्रमलाई लक्षित समुदायसम्म विस्तार गर्ने जनाएको छ। बैंकका अनुसार हाल २७९ शाखा, २९६ एटीएम, ४१ एक्सटेन्सन काउन्टर, ४० शाखारहित बैंकिङ इकाइ तथा १ हजार २३३ भन्दा बढी पीओएस टर्मिनल सञ्चालनमा छन्।

 

बैंकले ग्राहक केन्द्रित नवप्रवर्तन, उत्तरदायी बैंकिङ तथा दिगो वित्तीय अभ्यासलाई प्राथमिकता दिँदै आएको जनाएको छ। हेल्भेटास नेपालसँगको सहकार्यले हरित व्यवसायको वित्तीय क्षमता विस्तार, मूल्य शृङ्खला सुदृढीकरण, रोजगारी सिर्जना तथा जलवायु–उत्थानशील आर्थिक प्रणाली निर्माणमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

 

यस सहकार्यले नेपालमा हरित उद्यमलाई वित्तीय पहुँचसँग जोड्दै दिगो र समावेशी अर्थतन्त्र निर्माणतर्फ निजी क्षेत्र र विकास साझेदारबीचको सहकार्यलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।