चाडपर्व नजिकिँदै गर्दा नयाँ गहना किन्नेभन्दा पुराना गहना बेच्न आउने बढे : महेन्द्र रत्न शाक्य

२०८३ भदौ २५ गते

चाडपर्व नजिकिँदै गर्दा नयाँ गहना किन्नेभन्दा पुराना गहना बेच्न आउने बढे : महेन्द्र रत्न शाक्य

काठमाडौं । तीज, इन्द्रजात्रा, दशैं र तिहारजस्ता चाड पर्वको मुखमा नेपाली सुनचाँदी बजारमा नयाँ गहना खरिद गर्नेभन्दा पुरानो सुन बिक्री गर्न आउने ग्राहकको संख्या बढेको छ ।

 

Advertisement:

Ad
Ad

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष महेन्द्ररत्न शाक्यले उच्च मूल्य, कमजोर क्रयशक्ति र विश्वव्यापी अनिश्चितताका कारण उपभोक्ताको व्यवहार परिवर्तन भएको बताएका छन् ।

 

शाक्यका अनुसार विगतमा यस्ता चाडपर्वका बेला नयाँ गहना किन्ने चलन बलियो भए पनि अहिले करिब ७० प्रतिशत उपभोक्ता नयाँ सुन किन्ने भन्दापनि पुरानो सुन बेच्नतर्फ लागेका छन् । बाँकी करिब ३० प्रतिशत उपभोक्ताले भने विवाह, सामाजिक संस्कार र पारिवारिक आवश्यकताका कारण मात्र नयाँ गहना खरिद गरिरहेका छन् ।

 

‘तीजदेखि दशैं–तिहारसम्म गहना, मेकअप र सौन्दर्य सामग्रीको बिक्री हुने मुख्य समय हो । तर अहिले नेपालीहरूको क्रयशक्ति कमजोर भएकाले धेरैले पुरानो सुन बेचेर खर्च चलाउने सोच बनाएका छन,‘ उनले भने ।

 

उनका अनुसार अहिले सुनको मूल्य ऐतिहासिक रूपमा बढ्नुमा विश्वव्यापी युद्धको वातावरण, आर्थिक अनिश्चितता र विभिन्न देशका केन्द्रीय बैंकहरूले सुन सञ्चिति बढाइरहेको अवस्थाले प्रभाव पारेको छ । यही कारण आगामी दिनमा पनि सुनको मूल्य उच्च रहने उनको अनुमान छ ।

 

‘मेरो आंकलनमा सुनको मूल्य घटेर तीन लाख रुपैयाँ प्रतितोलाभन्दा तल आउने सम्भावना कम छ । परिस्थिति झन् जटिल भए चारलाख रुपैयाँसम्म पुग्न पनि सक्छ,’ उनले भने । शाक्यले अहिले उपभोक्ताले आत्तिएर सुन बेच्नु उपयुक्त नहुने धारणा पनि राखे । उनका अनुसार मूल्य निरन्तर बढिरहेको अवस्थामा बिक्री गर्दा उपभोक्ताले सम्भावित लाभ गुमाउन सक्छन् ।

 

उनले नेपाल र भारतबीच सुनको मूल्य अन्तर घटाउन भन्सार दर पुनरावलोकन गर्न सरकारलाई आग्रह गरे । भारतको तुलनामा नेपालमा सुन महँगो हुँदा खुला सीमाबाट अनौपचारिक कारोबार बढ्ने जोखिम रहेको उनको भनाइ छ ।

 

पुरानो सुन बेच्न आउने ग्राहकहरुलाई व्यवसायीले तत्काल नगद उपलब्ध गराउन कठिन भइरहेको पनि उनले बताए । पुरानो सुन बेच्न आउनेहरुलाई अहिले अधिकांश व्यवसायीले १५ देखि २० दिनको अवधिमा चेकमार्फत भुक्तानी गर्ने व्यवस्था अपनाइरहेका छन् । ‘पुरानो सुन पगालेर शुद्धीकरण गरी पुनः प्रयोग गर्नुपर्ने भएकाले समय लाग्छ,‘ उनले भने ।

 

शाक्यका अनुसार अहिले बजारमा पुरानो गहना पर्याप्त मात्रामा संकलन भएको छ । पहिले बजारको करिब आधा आवश्यकता आयातबाट पूरा हुने गरेपनि अहिले करिब ८० प्रतिशत कच्चा पदार्थ पुरानो सुन पुनःप्रशोधनबाट व्यवस्थापन भइरहेको छ ।सुनसँगै चाँदीको माग पनि औद्योगिक प्रयोगका कारण बढिरहेको उनले बताए । विद्युतीय उपकरण, सौर्य प्रविधिलगायत क्षेत्रमा चाँदीको प्रयोग बढेकाले यसको मूल्य पनि थप उकालो लाग्ने सम्भावना रहेको उनको भनाइ छ ।

 

यद्यपि, उनले हिराको बजार भने स्थिर रहेको बताए । प्रयोगशालामा उत्पादन हुने ‘ल्याब–ग्रोन डायमण्ड’को विस्तारले प्राकृतिक हिराको माग प्रभावित भए पनि सुनको विकल्प भने अझै विकसित हुन नसकेको उनको तर्क छ । ‘सुन केवल गहना होइन, नेपाली परिवारको सामाजिक सुरक्षा र बचतको माध्यम पनि हो । सकेसम्म आत्तिएर बेच्ने होइन, दीर्घकालीन लगानीका रूपमा सुरक्षित राख्ने समय यही हो,‘ शाक्यले भने ।

 

नेपालमै खारिएको तेजाबी सुनको छुट्टै मूल्य तोक्न माग

नेपालमै परम्परागत रूपमा खारिएको ‘तेजाबी सुन’को छुट्टै मूल्य निर्धारण गर्नुपर्ने आवश्यकता रहेको शाक्यले बताएका छन् । बजारमा यस्ता सुनको कारोबार उल्लेख्य रूपमा बढेकाले पहिलेजस्तै यसको मूल्य निर्धारण आवश्यक भएको उनको भनाइ छ ।

शाक्यका अनुसार नेपालमा विगतदेखि नै तेजाब प्रयोग गरेर सुन खार्ने परम्परागत प्रणाली रहेको छ । यसअघि बजारमा विदेशी कम्पनीको हलमार्क भएको ‘छापा सुन’ र नेपालमै खारिएको ‘तेजाबी सुन’को फरक मूल्य तोकिने व्यवस्था थियो । 

पछिल्ला वर्षमा भने छापा सुनकै मूल्य मात्रै निर्धारण हुने गरेको उनले बताए । उनका अनुसार हाल बजारमा तेजाबी सुनको मात्रा बढ्दै गएको छ । ‘हामीले खारेका सुनहरू अहिले बजारमा धेरै छन् । त्यसैले तेजाबी सुनको पनि छुट्टै भाउ तोकिनुपर्छ भनेर माग गरिरहेका छौं,‘ उनले भने ।

शाक्यले नेपालमा सुन प्रशोधन गर्ने क्षमता रहेकाले स्वदेशमै खारिएको सुनको मूल्यांकन पनि त्यसअनुसार हुनुपर्ने धारणा राखे । यसले बजारमा पारदर्शिता बढ्ने र उपभोक्तालाई पनि स्पष्ट मूल्य प्रणाली उपलब्ध हुने उनको विश्वास छ ।

उनले सुनको कारोबारमा उपभोक्ताले पनि मूल्य बढेको समयमा हतारमा बिक्री वा खरिद नगरी बजारको अवस्था विश्लेषण गरेर मात्रै निर्णय लिनुपर्ने सुझाव दिए । विशेष आवश्यकता बाहेक सम्पूर्ण गहना एकैपटक बेच्ने वा किन्ने निर्णय उपयुक्त नहुने उनको भनाइ छ ।