२०८३ भदौ ०२ गते
काठमाडौं । भृकुटीमण्डपमा छ दिनसम्म चलेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा देखिएको भीडले नेपाली उपभोक्ताको सवारीसाधनप्रतिको आकर्षण बढ्दो रहेको तथ्य उजागर गरिदिएको छ ।
कतिपयले सवारीसाधनप्रति सर्वसाधारणको रुचि घटिरहेको र व्यापार समेत नभएको भनिरहँदा एक्स्पोको भिडले उक्त भनाइलाई गलत सावित गरेको छ । सवारीसाधन प्रति सर्वसाधारणको रुचि घटेको छैन बरु बदलिँदो प्रविधि र नयाँ मोडलसँगै सर्वसाधारणको सवारीप्रतिको रुचि विस्तार भइरहेको छ ।
एक्स्पो सकिँदासम्म आयोजक नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले एक लाख ८० हजारभन्दा बढी अवलोकनकर्ताले अवलोकन गरेको जनाएको छ। अन्तिम दिन मात्रै ३० हजारभन्दा बढीले एक्स्पो अवलोकन गर्नुले पनि नाइमाको एक्स्पोको आकर्षण झल्काउँछ । अझ रोचक पक्ष त के छ भने एक्स्पोमा करोड रुपैयाँभन्दा माथिका विभिन्न ब्रान्डका करिब २०० वटा गाडी बुकिङ भएको आयोजकको दाबी छ।
यसले नेपाली अटोमोबाइल बजारमा उपभोक्ताको चासो अब गाडी हेर्ने तहमा मात्र सिमित नरहेको देखाएको छ। महँगा विद्युतीय कार, प्रिमियम एसयूभीदेखि नयाँ प्रविधियुक्त सवारीसाधनसम्म ग्राहकले चासो देखाउनु बजारमा क्रयशक्ति र नयाँ पुस्ताको मोबिलिटीप्रतिको रुचि दुवै बढिरहेको बुझिन्छ ।
नाइमा नेपाल मोबिलिटी एक्स्पोमा यसपटक ५५ भन्दा बढी ब्रान्ड सहभागी थिए भने ५३ वटा नयाँ उत्पादन सार्वजनिक गरिए। विद्युतीय कार, एसयूभी, कमर्सियल तथा अन्य नयाँ पुस्ताका सवारीसाधनले प्रदर्शनीस्थलमा विशेष आकर्षण सिर्जना गर्यो प्रदर्शनीमा आएका ग्राहकले नयाँ मोडल र प्रविधिबारे जानकारी लिनेदेखि टेस्ट ड्राइभ र बुकिङसम्ममा रुचि देखाएका थिए।
नाइमा अध्यक्ष रितु सिंह वैद्यका अनुसार ठूलो संख्यामा अवलोकनकर्ता, नयाँ उत्पादनप्रतिको चासो र बुकिङले नेपालको अटोमोबाइल तथा मोबिलिटी बजारप्रति ग्राहकको रुचि अझै बलियो रहेको देखाएको छ। एक्स्पोलाई सवारीसाधन प्रदर्शन गर्ने थलोमा मात्र सीमित नगरी ज्ञान, प्रविधि र भविष्यको मोबिलिटीबारे बुझ्ने प्लेटफर्मका रूपमा विकास गर्ने प्रयास गरिएको उनको भनाइ छ।
.jpg)
गाडीको स्टलमात्र होइन छलफलको मञ्च पनि
यस पटकको नाइमा एक्स्पोको आकर्षण केवल चम्किला गाडी र नयाँ मोडलमा मात्र सीमित भएन। अटोमोबाइल क्षेत्रसँग जोडिएका प्रविधि, वित्त, बीमा, ऊर्जा र लगानीका विषय पनि एक्स्पोको महत्वपूर्ण हिस्सा बन्यो। एक्स्पो अवधिभर एआई तथा अटोमोटिभ प्रविधि, ब्याट्री रिसाइकल, इथानोल ब्लेन्डिङ, वित्त तथा बीमा, मोबिलिटीको वर्तमान र भविष्य तथा लगानी र प्रत्यक्ष वैदेशिक लगानीलगायत विषयमा छलफल भए। समापनका दिन आयोजित ‘नाइमा मोबिलिटी संवाद’ले पनि एक्स्पोलाई प्रदर्शनीभन्दा एक कदम अगाडि लैजाने प्रयास गरेको देखियो।

बैंक तथा बीमा कम्पनीदेखि चार्जिङ कम्पनी, प्रविधि कम्पनी, शैक्षिक संस्था, राइड सेयरिङ, स्वास्थ्य तथा सुरक्षा क्षेत्रका संस्थासम्मको सहभागिताले मोबिलिटी एक्स्पो अब केवल ‘गाडी’को मात्र प्रर्दशनी गर्ने ठाउँ नभइ ज्ञान लिने र दिने ठाउँ पनि भएको छ। विद्युतीय सवारीको विस्तारसँगै चार्जिङ पूर्वाधार, ब्याट्री व्यवस्थापन, वित्तीय पहुँच, बीमा र डिजिटल प्रविधि पनि अटोमोबाइल बजारका अभिन्न हिस्सा बन्दै गएका छन्।
प्रविधि, सुरक्षा र सुविधामा केन्द्रित ग्राहक
एक्स्पोको पहिलो दिन २९ हजारभन्दा बढीले अवलोकन गरेका थिए। दोस्रो दिन २६ हजार, तेस्रो दिन २२ हजार, चौथो दिन ३१ हजार र पाँचौँ दिन ४२ हजारभन्दा बढी अवलोकनकर्ता पुगे। अन्तिम दिनको ३० हजारभन्दा बढीको उपस्थितिसँगै कुल अवलोकनकर्ता संख्या एक लाख ८० हजार नाघेको नाइमा बताउँछ।
यो भीड केवल मनोरञ्जनका लागि आएको भीड थिएन। नयाँ गाडी खरिद गर्ने योजना बनाएका ग्राहक, विद्युतीय सवारीबारे बुझ्न चाहने उपभोक्ता, लगानीकर्ता, अटोमोबाइल व्यवसायी र नयाँ पुस्ताका प्रविधिप्रेमीको मिश्रित उपस्थितिले बजारको बदलिँदो चरित्र देखाएको छ। विशेषगरी करोडभन्दा माथिका गाडीमा समेत ठूलो संख्यामा बुकिङ हुनु नेपाली बजारमा प्रिमियम सवारीसाधनको माग विस्तार भइरहेको संकेत हो। विगतमा सीमित वर्गको पहुँचमा रहेका यस्ता सवारीसाधन अहिले नयाँ प्रविधि, सुरक्षा, सुविधा र ब्रान्ड भ्यालुका कारण ग्राहकको रोजाइमा पर्न थालेका छन्।

नाइमा एक्स्पो २०२६ ले नेपाली अटोमोबाइल बजारमा आकर्षण झनै बढीरहेको सन्देश दिएको छ । एक्स्पोमा देखिएको भीड, ५३ नयाँ उत्पादनप्रतिको चासो र करोडमाथिका गाडीको बुकिङले देखाउँछ की अटोमोबाइल्स प्रति आकर्षण घटेको छैन बरु उपभोक्ताको रोजाइ र अपेक्षा भने बदलिएको छ। अब नेपाली ग्राहक गाडी मात्र खोजिरहेका छैनन्, उनीहरू प्रविधि, सुविधा, सुरक्षा, ऊर्जा दक्षता र भविष्यसँग जोडिएको मोबिलिटी खोजिरहेका छन्। यही परिवर्तनलाई आत्मसाथ गर्दै नाइमा एक्स्पो पनि वर्षेनी विस्तार हुँदै गएको देखिन्छ।
प्रतिक्रिया