२०८२ साउन २० गते
काठमाडौं । सरकारले निर्वाचन क्षेत्र सडक र वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम अन्तर्गत निर्माण सम्पन्न भएका सडकहरूको मर्मत सम्भारका लागि प्रदेश तथा स्थानीय तहलाई हस्तान्तरण गर्ने भएको छ ।
मंगलबार बसेको संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्वन्ध) समितिको बैठकले निर्माण सम्पन्न भएका वैकल्पिक सहायक राजमार्गको मर्मत सम्भारका लागि प्रदेश तथा स्थानीय तहलाई हस्तान्तरण गर्ने भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्रले जानकारी दिएका हुन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सडक विभागले मर्मत सम्भार गर्दै आइरहेका राष्ट्रिय राजमार्ग बाहेकका सहत्यक मार्ग (३०७८ कि.मि.) सडकहरू मध्ये हाल कोशी, बागमती र सुदूरपश्चिम प्रदेश सरकारबाट प्रदेश राजपत्रमा सूचना प्रकाशन गरी आफ्नो क्षेत्राधिकार रहने गरी प्रदेश लोकमार्ग तथा प्रदेश मार्गको संजाल कायम गरेको देखिन आएको साथै अन्य प्रदेशहरुबाट पनि यसै खालको तयारी भएको सन्दर्भमा प्रदेशको क्षेत्राधिकारमा पर्ने सडकहरू चालु आ.व.२०८२/८३ देखि लागु हुने गरी उक्त सडकहरूमा कार्यरत लैन्थवर्कर र सुपरभाइजरहरू सहित सम्बन्धित प्रदेशलाई स्वामित्व हस्तान्तरण गर्ने सम्वन्धमा निर्णय भएको छ ।
प्रदेश सरकारबाट अनुरोध भई आएको अवस्थामा चालु आ.व २०८२/८३ का लागि मात्र उक्त सडकहरू चालु आ.व भित्रै सम्पन्न फरफारक गर्ने गरी सडक विभागबाटै मर्मत कार्य गर्ने र २०८३ श्रावण १ गते देखि अनिवार्य रुपमा उक्त सडकहरूमा कार्यस्त लेन्थवर्कर र सुपरभाइजरहरू सहित उक्त सडकहरु, सम्बन्धित प्रदेशको सडक पूर्वाधार संवद्ध मन्त्रालयमा हस्तान्तरण गर्ने मन्त्रालयले निर्णय गरेको छ ।
यस्तै निर्वाचन क्षेत्र सडक र वैकल्पिक सहायक राजमार्ग बिकास कार्यक्रम अन्तर्गत निर्माण सम्पन्न भएका सडकहरूको मर्मत सम्भारका लागि सम्बन्धित प्रदेश तथा स्थानीय तहलाई हस्तान्तरण गर्ने तथा स्थानीय सडक पुल निर्माण कार्यक्रम अन्तर्गत निर्माण सम्पन्न पुलहरुको मर्मत सम्भार तथा संचालनका लागि सम्बन्धित प्रदेश तथा स्थानीय तहलाई हस्तान्तरण गर्ने लगायतका निर्णय भएका छन् ।
प्रतिक्रिया