बाढीले क्षति पुगेका बैंक शाखा सार्न राष्ट्र बैंकको पूर्वस्वीकृति नचाहिने

२०८३ भदौ १४ गते

बाढीले क्षति पुगेका बैंक शाखा सार्न राष्ट्र बैंकको पूर्वस्वीकृति नचाहिने

काठमाडौं । भोटेकोशी बाढी तथा प्राकृतिक विपद्का कारण क्षति पुगेका बैंक तथा वित्तीय संस्थाका शाखा तथा कार्यालय तत्काल सार्न नेपाल राष्ट्र बैंकको पूर्वस्वीकृति लिनुनपर्ने भएको छ।

 

Advertisement:

Ad
Ad

नेपाल राष्ट्र बैंकले  सूचना जारी गर्दै प्राकृतिक विपद्का कारण रसुवालगायत प्रभावित क्षेत्रमा क्षति पुगेका वा सञ्चालन गर्न असहज भएका इजाजतपत्रप्राप्त संस्थाका शाखा तथा कार्यालयलाई बैंकिङ सेवा यथाशीघ्र सुचारु गर्ने प्रयोजनका लागि अस्थायी रूपमा स्थानान्तरण वा नजिकको अर्को शाखामा समायोजन गर्न सकिने व्यवस्था गरेको हो।

 

राष्ट्र बैंकका अनुसार विपतबाट प्रभावित शाखा तथा कार्यालयलाई केन्द्रीय बैंकको पूर्वस्वीकृतिबिना सम्बन्धित संस्थाले नै स्थानान्तरण वा नजिकको अर्को शाखामा समायोजन गर्न सक्नेछन्। यस व्यवस्थाले बाढी तथा अन्य प्राकृतिक विपतबाट प्रभावित क्षेत्रमा बैंकिङ सेवा अवरुद्ध हुन नदिन सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ।

 

शाखा वा कार्यालय स्थानान्तरण अथवा अर्को शाखामा समायोजन गरेपछि भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाले ७ दिनभित्र नेपाल राष्ट्र बैंकलाई जानकारी गराउनुपर्नेछ। । भदौमा आएको प्राकृतिक विपद्का कारण विशेषगरी रसुवा, भोटेकोशी तथा आसपासका क्षेत्रमा बैंक तथा वित्तीय संस्थाका भौतिक संरचना र सेवा प्रभावित भएका छन्। यस्तो अवस्थामा ग्राहकलाई बैंकिङ सेवा निरन्तर उपलब्ध गराउने उद्देश्यले राष्ट्र बैंकले प्रक्रिया सहज बनाएको हो।

 

नयाँ व्यवस्थाअनुसार प्रभावित शाखा तत्काल सञ्चालन गर्न नसकिने अवस्था भएमा नजिकको सुरक्षित स्थानमा स्थानान्तरण गरी सेवा सञ्चालन गर्न सकिनेछ। यसबाट विपद्पछिको राहत, उद्धार तथा आर्थिक गतिविधिमा आवश्यक पर्ने बैंकिङ कारोबारलाई निरन्तरता दिन सहयोग पुग्नेछ।