ओलीको फोन प्रचण्डले उठाएनन,  माओवादी संसद अवरोध राख्ने, एमाले जसरी पनि सदन चलाउँने

२०८२ जेठ १९ गते

ओलीको फोन प्रचण्डले उठाएनन,  माओवादी संसद अवरोध राख्ने, एमाले जसरी पनि सदन चलाउँने

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रमेश लेखकको राजीनामालाई अनावश्यक विषय बनाएर प्रतिपक्षले सदन अवरोध गर्नु लोकतन्त्रविपरीत भएको बताएका छन् । नेकपा (एमाले) को संसदीय दलको सोमबार बानेश्वरमा भएको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मङ्गलबारदेखि संसदका नियमित गतिविधि सञ्चालन हुने बताएका हुन् । 

‘भोलिदेखि नियमित संसद चलाउँ भनेर मैले प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’जी कुरा गर्न खोजे तर उहाँ जानीजानी सम्पर्कमा आउनुभएन । वार्ता, संवाद नगर्ने अनि सदन बन्द गर्ने मुडमा उहाँहरु हुनुहुन्छ होला । यस्तो व्यवहार सँधै चल्दैन । संसद यस्ता नचाइने कुरामा सँधै बन्द हुँदैन्,’ प्रधानमन्त्री ओलीले भने, ‘केही विषय नपाएर गृहमन्त्रीको राजीनामा मागिएको छ, जबकि गृहमन्त्रीमाथि कुनै उजुरी वा छानबिन चलेको छैन । त्यसकारण यस्ता कुरामा संसद अवरुद्ध हुँदैन । माननीयज्यूहरु तयार भएर बस्नुस्। भोलिदेखि सदन चल्छ ।’

Advertisement:

Ad
Ad


सडकमा कुनै समूहले केही माग लिएर बस्दा पनि कुँदेर गएर समर्थन गर्ने र सदन पनि अवरोध गर्ने यस्ता कामले प्रतिगमनलाई सहयोग पुग्ने र लोकतन्त्रलाई असहयोग हुने प्रधानमन्त्री ओलीको भनाइ थियो ।खास परिस्थितिबाट देश अगाडि बढिरहेको गम्भीर मोडमा सरकारको बजेट प्रस्तुत भएकाले यसका पक्षमा तर्कपूर्णरुपमा आफ्ना कुरा राख्न सांसदहरुलाई आग्रह गर्दै प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई संसदीय गतिविधिलाई महत्व दिन निर्देशन दिए । 

तर यता नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संसदको अवरोध कायमै राख्ने निर्णय गरेको छ । सोमबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको माओवादी संसदीय दलको बैठकले यस्तो निर्णय गरेको पार्टीका उपमहासचिव वर्षमान पुनले बताए ।

उनले भने, ‘भोलि(मंगलबार)को संसदको अवरोध यथावत रहन्छ । गृहमन्त्रीले राजीनामा दिनुपर्छ भनेर विपक्षीले मात्रै भनिरहेको छैन । आम मिडिया र जनसमूदायले भनिरहेको छ । भिजिट भिसा प्रकरणमा सेटिङ भएको छ । को संलग्न छ भन्ने कुरा त छानबिनले देखाउँछ । छानबिनको लागि उहाँले मार्गप्रशस्त गर्नुपर्छ भन्ने दलको निष्कर्ष छ ।’