२०८२ साउन ०७ गते
काठमाडौ । सामाजिक सुरक्षा कोषमा औपचारिक क्षेत्रका २१ हजार ३१ वटा संस्था आबद्ध भएका छन् । ती संस्थाका ६ लाख ३ हजार ७८३ योगदानकर्ताले सामाजिक सुरक्षाकोषमा योगदान गरेका छन् ।
सामाजिक सुरक्षा कोषका अनुसार हालसम्म अनौपचारिक क्षेत्रका पनि ७२० र स्वरोजगार क्षेत्रका ४२३ योगदानकर्ता आबद्ध छन् । यस्तै वैदेशिक रोजगारमा गएकाहरु पनि १७ लाख ८७ हजार ६ सय ८७ योगदानकर्ता सामाजिक सुरक्षाकोषमा आवद्ध छन् ।
यो सँगै हालसम्म सामाजिक सुरक्षाकोषमा आवद्ध हुने योगदानकर्ताको संख्या २३ लाख ९२ हजार ६१३ जना पुगेको छ । यी योगदानकर्ताबाट ८६ अर्ब ९३ करोड रुपैयाँ संकलन भएको छ । यस्तै १५ अर्ब ८९ करोड रुपैयाँ दाबी भुक्तानी भएको छ ।
कोषमा श्रमिकले बैंक खातामा आफ्नो मासिक आम्दानीको ११ प्रतिशत जम्मा गर्नुपर्छ भने रोजगार दाताले २० प्रतिशत थपेर कुल २१ प्रतिशत रकम प्रतिमहिना श्रमिकको खातामा संकलन हुन्छ ।
औपचारिक क्षेत्रमा काम गर्ने श्रमिकका सामाजिक सुरक्षा योजना २०७६ साउन १ गते, वैदेशिक रोजगारमा रहेका श्रमिकका लागि २०७९ चैत्र ८ र अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिका लागि २०८० साउन ३१ गते देखि योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आएको हो ।
यस्तै चालु अआर्थिक वर्ष २०८२/ ८३ देखि नियुक्त हुने सरकारी कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागु हुने व्यवस्था बजेटले गरिसकेको छ। सरकारले सामाजिक सुरक्षाका नाममा मोटो रकम छुट्याउँनुपर्दा राज्यको ढुकुटीमा चरम चाप परेको छ । यसैकारण यसपटक देखि सरकारी कर्मचारीलाई पनि समाजिक सुरक्षाकोषमा आवद्ध गर्न लागिएको हो ।
प्रतिक्रिया