सर्वाधिक महंगो सेयर मूल्य भएको युनिलिभरको प्रतिसेयर आम्दानी र नाफा दुबै घट्यो

२०८३ साउन २८ गते

सर्वाधिक महंगो सेयर मूल्य भएको युनिलिभरको प्रतिसेयर आम्दानी र नाफा दुबै घट्यो

काठमाडौं । दोस्रो बजारमा सर्वाधिक मंहगो सेयर मूल्य भएको युनिलिभरले लगानीकर्ता निराश बनाउँने वित्तिय विवरण सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा र आम्दानी दुबै घटेको छ ।

 

Advertisement:

Ad
Ad

आर्थिक वर्ष २०८२/०८३ मा युनिलिभरले १ अर्ब ७० करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो भनेको अघिल्लो आवको तुलनामा २० प्रतिशतले कम हो । अघिल्लो आवमा  कम्पनीले १ अर्ब ९७ करोड २६ लाख रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको प्रतिसेयर आम्दानी १,७३२ रुपैयाँ कायम भएको छ । यो भनेको एक कित्ता सेयर बराबर १ हजार ७ सय ३२ रुपैयाँ आम्दानी भएको छ भन्ने हो ।  अघिल्लो वर्ष ईपीएस २,१३१ रुपैयाँ थियो । युनिलिभरको ईपीएस ३९९ रूपैयाँले घटेको हो । कम्पनीको प्रतिसेयर नेटवर्थ ५,५३९ रुपैयाँ रहेको छ ।

भारतमा भएको कर संरचनाको परिवर्तनले मूल्य निर्धारणमा परेको प्रभाव परेको कम्पनीको वित्तीय विवरणमा उल्लेख छ । विशेष गरी पेट्रोलियम पदार्थसँग सम्बन्धित कच्चा पदार्थमा भएको मूल्य वृद्धि, उपभोक्ताको क्रयशक्तिमा आएको ह्रास र खर्च गर्ने बानीमा देखिएको सतर्कता, विश्वव्यापी भू-राजनीतिक तनाव र आपूर्ति श्रृंखलामा परेको अवरोधका कारण नाफा घटेको कम्पनीले जनाएको छ ।

पछिल्लो ५२ हप्तामा यस कमपनीको सेयर मूल्य ४९ हजार ७३८ रुपैयाँ सम्म कायम भएको नेपाल स्टक एक्सचेन्जको तथ्यांकले देखाउँछ । ९ लाख २० हजार सात सय कित्ता सेयर  दोस्रो बजारमा सुचिकृत छ । यसमा ८५ प्रतिशत  संस्थापक सेयर छ भने १५ प्रतिशत सर्वसाधारणको सेयर रहेको छ ।