बिचल्लीमा जेनजी आन्दोलनका घाइते, उपचार र पुनःस्थापनाको माग गर्दै अनसन

२०८३ असोज ०६ गते

बिचल्लीमा जेनजी आन्दोलनका घाइते, उपचार र पुनःस्थापनाको माग गर्दै अनसन

झापा । गत बर्षको भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घाइते भएका झापा र मोरङका युवाहरू उपचार, क्षतिपूर्ति, परिचयपत्र तथा दीर्घकालीन पुनःस्थापनाको माग गर्दै बिर्तामोडको मुख्य चोकमा अनसनमा बसेका छन् । 

 

Advertisement:

Ad

आन्दोलनका क्रममा गोली लागेर गम्भीर घाइते भएका युवाहरूले राज्यले आफ्ना माग सम्बोधन नगरेको भन्दै दबाबस्वरूप अनसन सुरु गरेका हुन् । अनसनमा रहेका युवाहरूले उपचारको सम्पूर्ण खर्च राज्यले व्यहोर्नुपर्ने, घाइतेको अवस्था वर्गीकरण गरी सोहीअनुसार उपचारको व्यवस्था गर्नुपर्ने तथा घाइतेलाई रोजगारीको व्यवस्था गर्नुपर्ने माग गरेका छन् । 

 

अनसनरत युवामध्ये उर्लाबारी नगरपालिका–४ किसानचोकका २० वर्षीय प्रयास चौहान पनि छन् । दमक नगरपालिका कार्यालयअगाडि भएको प्रदर्शनका क्रममा भदौ २३ गते दिउँसो करिब १ बजे गोली लागेर घाइते भएका चौहानको हात र खुट्टामा गोली लागेको थियो।

 

उनका अनुसार गोली लागेर हातका तीनवटा नसा चुँडिएका छन्। खुट्टामा अझै दुईवटा गोलीका छरा रहेको र हातले काम गर्न नसक्ने अवस्था रहेको उनले बताए।घाइते भएपछि तत्काल मोरङस्थित नोबेल अस्पताल लगिए पनि उपचारका क्रममा लागेको खर्च आफैँले बेहोर्नुपरेको चौहानको भनाइ छ। अस्पतालको रु ५५ हजार बिल भुक्तानी हुन बाँकी रहेपछि उपचारमा समेत असहयोग भएको उनको आरोप छ।

 

चौहानले उपचार खर्च जुटाउन ऋण गर्नुपरेको र त्यसपछि डिस्चार्ज भएको बताए। उपचारमा लागेको रकम फिर्ता गर्ने भनिए पनि हालसम्म आफूले नपाएको उनको गुनासो छ।‘गोली लागेपछि उपचार गराएँ । अहिले पनि हातले काम गर्दैन । खुट्टामा गोलीका छरा छन्,’ चौहानले भने, ‘उपचारमा लागेको खर्च आफैँले बेहोर्नुपरेको छ । सरकारले घाइतेको अवस्था हेरेर उपचार र पुनःस्थापनाको जिम्मेवारी लिनुपर्छ।’

 

अर्का घाइते अर्जुनधारा नगरपालिका–६ का विवेक दनुवार पनि अनसनमा छन् । भदौ २४ गते दिउँसो करिब १२ः३० बजे बिर्तामोडस्थित इलाका प्रहरी कार्यालय अगाडि भएको घटनामा गोली लागेर घाइते भएका दनुवारको पेटमा गोली लागेर दुईवटा आन्द्रा चुट्टिएको थियो। सही झडपमा अर्जुनधाराका गोपाल सेढाइ (ज्ञानेन्द्र) को समेत गोली लागेर घटनास्थलमै मृत्यु भएको थियो।

 

दनुवारको उपचारका क्रममा बिएन्डसी मेडिकल कलेजमा उनको शल्यक्रिया गरिएको थियो। पेटमा २९ वटा टाँका लगाइएको र करिब १२ दिनपछि अस्पतालबाट डिस्चार्ज भएको उनले बताए। अहिले पनि हिँडडुल गर्न तथा बोल्नसमेत कठिनाइ हुने गरेको उनको भनाइ छ।

 

दनुवारले आन्दोलनमा घाइते भएकाहरूको अवस्था हेरेर उपचारको वर्गीकरण गर्नुपर्ने माग गरेका छन्। गम्भीर घाइतेलाई दीर्घकालीन उपचार र पुनःस्थापनाको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ।‘हामीलाई सरकारले अहिलेसम्म सुनेको छैन । माग सम्बोधन गर्नुको सट्टा अनसन तोडाउन र फकाउन खोजिएको छ,’ दनुवारले भने, ‘माग पूरा नभएसम्म अनसन तोड्दैनौँ। यही अवस्थामा मर्नुपरे पनि पछि हट्दैनौँ ।’

 

अनसनरत घाइतेहरूका अनुसार आन्दोलनमा घाइते भएकाहरूलाई तत्काल उपचार, उचित क्षतिपूर्ति, परिचयपत्र तथा रोजगारीको व्यवस्था गर्नुपर्छ। उनीहरूले घाइते तथा शहीद परिवारका बालबालिकालाई निःशुल्क शिक्षाको व्यवस्था गर्नुपर्ने, सार्वजनिक यातायातमा विशेष सुविधा दिनुपर्ने र घाइते तथा शहीद परिवारका समस्या सम्बोधन गर्न छुट्टै कानुनी व्यवस्था गर्नुपर्ने मागसमेत अघि सारेका छन्।

 

झापामा जेनजी आन्दोलनका क्रममा सयभन्दा बढी व्यक्ति घाइते भएको घाइतेहरूको भनाइ छ। उपलब्ध सार्वजनिक विवरणमा पनि झापामा १०८ जना घाइते भएको र त्यसमध्ये ४३ जनाले मात्र घाइते परिचयपत्र प्राप्त गरेको सांसद प्रकाश पाठकले प्रतिनिधिसभामा बताएका छन्।

 

घाइतेको उपचार, क्षतिपूर्ति र दीर्घकालीन व्यवस्थापनको माग गर्दै उनीहरू बिर्तामोडमा आमरण अनसनमा बसेको सार्वजनिक विवरण यसअघि पनि आएको थियो। घाइतेहरूले निःशुल्क तथा गुणस्तरीय उपचार र हालसम्म लागेको उपचार खर्च राज्यले बेहोर्नुपर्ने माग राखेका छन्।

 

अनसनरत घाइतेहरूलाई भेट्न झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलसहितको टोली पुगेको थियो। सरकारी पक्षले माग सम्बोधनका लागि आवश्यक समन्वय गर्ने आश्वासन दिँदै अनसन तोड्न आग्रह गरेको भए पनि घाइतेहरूले माग कार्यान्वयन नभएसम्म अनसन नतोड्ने अडान लिएका छन्। छलफल निष्कर्षविहीन भएको सार्वजनिक विवरणमा उल्लेख छ।

 

यसैबीच जेनजी आन्दोलनका घाइतेको अवस्थाबारे राष्ट्रियस्तरमा समेत आवाज उठेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद प्रकाश पाठकले प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै झापामा आन्दोलनका क्रममा घाइते भएकाहरू उपचार, क्षतिपूर्ति तथा दीर्घकालीन व्यवस्थापनको माग गर्दै अनसनमा बसेको विषय सरकारको ध्यानाकर्षण गराएका छन्। उनले घाइतेलाई परिचयपत्र, निःशुल्क शिक्षा तथा तत्काल न्यायको व्यवस्था गर्नुपर्ने माग गरेका छन्।

 

झापामा आन्दोलनका क्रममा प्रहरीको गोली लागेर गोपाल सेढाई र दिनेश राजवंशीको मृत्यु भएको तथा १०८ जना घाइते भएको विवरण सांसद पाठकले संसद्मा प्रस्तुत गरेका थिए।आन्दोलनमा ज्यान गुमाएकालाई राज्यले सम्बोधन गर्ने तर घाइतेहरू उपचार र जीवनयापनको समस्यामा पर्नुपर्ने अवस्था कसरी अन्त्य गर्ने भन्ने प्रश्नसमेत उनले उठाएका छन्।

 

घाइते युवाहरूले आफूहरूलाई राजनीतिक विवादको विषयभन्दा पनि उपचार र पुनःस्थापनाको आवश्यकता भएको बताएका छन्। गोली लागेर अंगमा क्षति पुगेका, शल्यक्रिया गराएका र अझै उपचार आवश्यक रहेका युवाहरूको स्वास्थ्य अवस्था मूल्याङ्कन गरी तत्काल उपचार, आर्थिक सहायता र दीर्घकालीन पुनःस्थापनाको योजना ल्याउनुपर्ने उनीहरूको माग छ।

 

आन्दोलनपछि घाइतेको उपचार र राहतका विषयमा स्थानीय तह तथा विभिन्न निकायबाट पहल भए पनि आफूहरूले दीर्घकालीन समाधान नपाएको उनीहरूको गुनासो छ। घाइते परिचयपत्र वितरण, उपचार खर्चको व्यवस्थापन, क्षतिपूर्ति तथा रोजगारीको विषय टुङ्गो नलाग्दा आफूहरू थप समस्यामा परेको उनीहरूको भनाइ छ।

 

अनसनमा बसेका युवाहरूको स्वास्थ्य अवस्था कमजोर हुँदै गए पनि माग पूरा नभएसम्म अनसन नतोड्ने अडानमा छन्। उनीहरूको माग सम्बोधनका लागि स्थानीय प्रशासनले समन्वयको प्रयास गरिरहेको भए पनि उपचार, क्षतिपूर्ति र पुनःस्थापनाको व्यवस्थापन गर्नुपर्ने आवाज उठिरहेको छ।