२०८१ भदौ ०४ गते
रोल्पा । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले प्रधानमन्त्री केपी ओलीले राज्य दोहनमा मुछिएका मन्त्रीहरुलाई दायाँबायाँ राखेर ‘भ्रष्टाचारीको अनुहार हेर्दिन’ भन्दै हिंडेको टिप्पणी गरेका छन् ।
पार्टी सम्बद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारी रोल्पाको २३औं सम्मेलनलाई सोमबार साँझ सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले काण्डमा मुछिएकाहरु बीचमा बसेर भ्रष्टाचारीको मुख हेर्दिनँ भनेको सुन्दा मानिसहरु हाँस्ने गरेको बताए ।‘केपी ओलीले ‘म भ्रष्टाचार गर्दिन, अरुलाई पनि गर्न दिन्न, भ्रष्टचारीको मुख हेर्दिन भन्दै आउनुभएको छ’, पुनले भने, ‘दायाँबायाँ विभिन्न काण्डमा मुछिएका मन्त्रीहरुलाई राखेर यसो भनेको सुन्दा मानिसहरु हाँस्ने गर्छन् ।
मान्छेहरु भन्छन् कि ओलीजीले भ्रष्टाचारीको मुखमा पो नहर्ने भनेको त दायाँबायाँ नै राख्दिन भन्नुभएको छैन ।’ आफ्ना अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले सुशासनका लागि भ्रष्टाचारविरुद्ध चालेको कदमबाट डराएर रातारात काँग्रेस–एमालेबीच सहमति गरिएको आरोप उनले लगाए ।
उनले भुटानी शरणार्थी र गिरीबन्धु टीस्टेट प्रकरणमाथि छानबिन हुने भएपछि र बालुवाटारमा हडपिएको सरकारी जग्गा सरकारले आफ्नो नाममा फिर्ता ल्याउन थालेपछि अप्रत्यासित रुपमा काँग्रेस–एमालेबीच गठबन्धन भएको उल्लेख गरे । माओवादी सशस्त्र जनयुद्ध, ०६२/०६३ को संयुक्त आन्दोलन, शान्तिप्रक्रिया, गणतन्त्र घोषणा र संविधानसभामार्फत संविधान निर्माणसम्म आउँदा काँग्रेस–एमालेलाई रुपान्तरण गरियो होला भन्ने आफूहरुको अनुमान पछिल्ला घटनाक्रमहरुले गलत साबित भएको पुनले बताए ।
पुनले भ्रष्टचारविरुद्ध र सुशासन कायम गर्न आफूहरुले सडक र सदनबाट सरकारलाई खबरदारी गर्ने बताए ।
प्रतिक्रिया