रसुवागढी हाइड्रोमा बेपत्ता भएका ९३ परिवारको व्याकुल प्रतीक्षा :‘एकपटक फोन आओस्’

२०८३ भदौ १५ गते

रसुवागढी हाइड्रोमा बेपत्ता भएका ९३ परिवारको व्याकुल प्रतीक्षा :‘एकपटक फोन आओस्’

काठमाडौं । गत शुक्रबार जनैपूर्णिमा थियो। सधैंझैँ यसपटक पनि रसुवा हाइड्रोपावरमा प्लान्ट इन्जिनियरका रूपमा कार्यरत सन्तोष अधिकारी बिहीबार काठमाडौँमा रहेका आफ्ना परिवारलाई भेट्न आउने योजनामा थिए। घरमा उनकी बिरामी श्रीमती र १ वर्षे तथा ४ वर्षे दुई साना लालाबाला बुबाको बाटो कुरेर बसेका थिए।

तर, त्यो प्रतीक्षा पुरा हुन पाएको छैन,,,,,

Advertisement:

Ad
Ad

बुधबार बिहान करिब ९ बजेको समयमा रसुवा बजारसहित आसपासका हजारौँ बस्ती उजाड पार्ने गरी आएको प्रलयकारी बाढीले रसुवागढी हाइड्रोपावरमा कार्यरत इन्जिनियर अधिकारीसहित ९३ जनालाई एकैपटक बेपत्ता बनायो। केही क्षणमै आएको महाप्रलयले बस्ती, सडक, पुल र संरचनामात्र बगाएन, कैयौँ परिवारको खुसी, आशा र भविष्यसमेत अनिश्चित बनाइदियो।

आज घटना भएको पाँच दिन बितिसकेको छ। तर, रसुवागढी हाइड्रोपावरमा कार्यरत इन्जिनियर सन्तोष अधिकारी, देवप्रकाश नेपाल, समीर लामिछाने, सौगात अधिकारीलगायत ओभरसियर, व्यवस्थापनका कर्मचारी तथा कामदार गरी बेपत्ता ९३ जनाको अवस्था अझै अज्ञात छ।

उनीहरू कहाँ छन् कस्तो अवस्थामा जीवित छन् कि छैनन्  यी प्रश्नको जवाफ खोज्दै आफन्तहरू दिनरात छटपटाइरहेका छन्।

कसैको मोबाइलमा एउटा फोन आउँछ कि, कसैको ढोकामा अचानक आफ्नो मान्छे आइपुग्छ कि, कतैबाट 'उनीहरू सकुशल छन्’ भन्ने खबर सुनिन्छ कि भन्ने आशामा आफन्तहरू मोबाइलको स्क्रिन हेर्दाहेर्दै थाकिसकेका छन्। काठमाडौँको धुम्बाराहीस्थित रसुवागढी हाइड्रोपावरको कार्यालयमा धाउँदाधाउँदै उनीहरू लखतरान परिसकेका छन्। तर, अहिलेसम्म उनीहरूका लागि एउटा पनि सुखद् खबर आउन सकेको छैन।

‘कुनै खबर आउँछ कि’ भन्ने आशामा बितेका यी पाँच दिन आफन्तका लागि पाँच वर्षजस्तै बनेका छन्।

कम्पनी सचिव नरनाथ न्यौपानेका अनुसार नेपाली सेनाले आज १५ गते सोमबार बिहान ड्रोनमार्फत सुरुङभित्र करिब ३०० मिटरको दूरीसम्म खोजी गर्दा पनि बेपत्ताहरूको कुनै सुराक फेला पार्न सकेन। त्यसपछि परिवार र कम्पनी दुवै थप निराश बनेका छन्।

‘अहिलेसम्म केही पत्ता लाग्न सकेको छैन। खोजी जारी छ, तर आजको खोजीबाट पनि कुनै संकेत नपाएपछि हामी निराश भएका छौँ,’ न्यौपानेले भने।

उनका अनुसार कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ)का भाइ तथा सञ्चालक समिति सदस्यका दम्पतीसमेत उक्त घटनामा परी बेपत्ता भएका छन्। त्यसैले यो पीडा कम्पनीका कर्मचारी र उनीहरूका परिवारमा मात्र सीमित छैन, कम्पनीको नेतृत्व तहसम्मै गहिरोसँग पुगेको छ।

‘हाइड्रोको नामनिशान नै नरहे पनि केही छैन, हाम्रा कर्मचारीहरू सकुशल फर्किए हुन्थ्यो,’ न्यौपाने भन्छन् ।

बेपत्ता भएका आफन्तको खोजी गर्न आफैं रसुवा जान्छौँ भनेर जिद्दी गर्ने परिवारका सदस्यलाई कम्पनीले तीनवटा हेलिकप्टर चार्टर गरेर घटनास्थलसम्म पठाइसकेको छ। कतिपय आफन्त खोजी गरेर फर्किएका छन् भने कतिपय अझै त्यहीँ आफ्नो मान्छेको खोजीमा छन्।

यता, दिनहुँजसो कम्पनीको कार्यालयमा बेपत्ता कर्मचारीका परिवारहरू आउने गरेका छन्। उनीहरूको एउटै प्रश्न हुन्छ- ‘हाम्रो मान्छेको केही खबर आयो?’तर, कम्पनीसँग उनीहरूलाई दिने जवाफ छैन।

पाँच दिनदेखि बज्न छाडेको फोनले उनीहरूको मनमा झन् गहिरो पीडा थपिरहेको छ।

सास रहुञ्जेल आश हुन्छ भनिन्छ। त्यसैले पाँच दिन बितिसक्दा पनि आफन्तहरू आश मारेका छैनन्। मोबाइलको घण्टी बज्ने प्रतीक्षा अझै उस्तै छ। बाटो हेर्ने आँखा अझै थाकेका छैनन्। मनले अझै भनिरहेको छ- ‘सायद उहाँहरू कतै हुनुहुन्छ, सायद कुनै क्षण सुखद् खबर आउला।’

आफ्नो प्रियजनसँग बिछोड हुनुको पीडा उसैले मात्र महसुस गर्न सक्छ, जसले आफ्नो मान्छे हराएको छ। रसुवाको बाढीले धेरै कुरा बगायो। घर, संरचना, सडक र सपनाहरू बगायो। तर, आफन्तको मनमा बाँकी रहेको त्यो सानो आशा भने अझै बगेको छैन।

त्यही आशामा पाँच दिनदेखि ९३ परिवारका आँखा एउटै खबरको प्रतीक्षामा छन्,आफ्ना हराएका प्रियजनको पर्खाइमा छन् ।