चोरी भएका ३८३ वटा मोटरसाइकल बरामद,चोरीमा संलग्न ३६ जना परे कारबाहीमा

२०८१ जेठ २७ गते

चोरी भएका ३८३ वटा मोटरसाइकल बरामद,चोरीमा संलग्न ३६ जना परे कारबाहीमा

काठमाडौँ  ।  चालु आर्थिक वर्षको हालसम्म विभिन्न मितिमा हराएका सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले  सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । आइतबार मात्र १९ ओटा दुई पाङग्रे  सवारी साधन ट्राफिक प्रहरीले  एक कार्यक्रमकाबीच सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् ।

बुझाइएका १९ ओटा सहित यो वर्ष मात्र ३८३ वटा मोटरसाइकल तथा स्कुटर सम्बन्धित सवारीधनीलाई जिम्मा लगाइएको ट्राफिक प्रहरीले जनाएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्‍त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा नागढुङ्गा, बौद्ध, एयरपोर्ट, काडाँघारी, सुकेधारा, महाराजगञ्ज, नयाँबसपार्क, नेपालटार, माकलबारी, स्वयम्भू, सोह्रखुट्टे र ठमेल लगायतका स्थानबाट हराएका उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो ।

Advertisement:

Ad
Ad

अवैध रुपमा नेपाल भित्रिएका १७ ओटा सवारी साधनलाई भने भन्सार कार्यालयमा बुझाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठले बताए । चालु आर्थिक वर्षमा चोरीका २८ ओटा २ पाङ्ग्रे सवारी साधन सहित चोरीमा संलग्न ३६ जना व्यक्तिहरूलाई पनि कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ ।

सवारी साधन चोरी तथा हराउनबाट जोगाउन आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरु जडान गरी सवारी साधन चोरी तथा हराउनबाट रोक्न विभिन्न उपायहरु अवलम्वन गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।