२०८२ जेठ ११ गते
ललितपुर । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कम्बोडियामा केपी ओलीको ३२ अर्ब लगानी छ भनेर भ्रम फैलाउने प्रचण्ड भएको आरोप लगाएका छन् । नेकपा (एमाले) को बागमती प्रदेशस्तरीय जननिर्वाचित वडाध्यक्षहरुको प्रशिक्षण कार्यक्रमको आज उद्घाटन गर्दै अध्यक्ष ओलीले आफू र एमालेमाथि गलत कुरा फैलाउने र आक्रमण गर्ने विरुद्ध डटेर सामना गर्न आग्रह गरे ।
“कम्बोडियामा मेरो ३२ अर्ब लगानी छ भनेर हल्ला फिँजाउने पुष्पकमल दाहाल ‘प्रचण्ड’ हो । त्यसको पछि लाग्नेहरु माधव नेपाल र झलनाथ खनालहरु हुन् । माधव र झलनाथले पार्टी प्रमुख हुँदा प्रभावकारीरुपमा चलाउन सकेनन् । पछिसम्म पार्टी चाँही कब्जामा लिएर बस्न खोजे । हामीले निकम्बा, बेठिक र परनिर्भर नेतृत्व विस्थापन गरेर समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षाका साथ पार्टीलाई अगाडि बढाउँदा त्यस्ताहरुलाई चित्त बुझेन अनि हामीविरुद्ध षड्यन्त्रमा लागेका छन् । देशी विदेशी प्रक्रियावादीहरुले हामीलाई लडाउन खोजेका छन्, त्यसमा सजग भएर आपसी द्वन्द्व र खिचातानीका प्रवृत्तिमा हामी जान हुँदैन । यो कुरा हामीले जनतासमक्ष बुझाउनुपर्छ ।”
राजतन्त्र फर्कने कुनै आधार नभए पनि प्रतिगामी तत्वहरु सल्बलाउँदा एमालेहरुको मनोबल गिर्न नहुने उल्लेख गर्दै उनले लाज नमानीकन जनतालाई रैती हुन पाउँ भन्नेहरुले फैलाउने भ्रम चिर्न आग्रह गरे । अध्यक्ष ओलीले प्रतिगामीहरुले जेठ १५ गते गर्ने प्रदर्शनको विपक्षमा तयारी रहन पनि निर्देशन दिए ।
प्रतिक्रिया