काठमाडौँ विश्वको प्रदूषित सहरको सूचीमा पहिलो नम्बरमा

२०८० चैत २८ गते

काठमाडौँ विश्वको प्रदूषित सहरको सूचीमा पहिलो नम्बरमा

काठमाडौँ । आज मुलुकको वायु प्रदूषण बढेर वर्षकै उच्च विन्दुमा पुगेको छ । देशका विभिन्न स्थानमा भइरहेको वन डढेलोका कारण वायु प्रदूषण उच्च विन्दुमा पुगेको हो । ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार आज काठमाडौँको वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) दुई सय ६५ पुगेको छ । मङ्गलबार एक्यूआई दुई सय पुगेको थियो ।

मुलुकका विभिन्न स्थानमा लागेको वन डढेलोसँगै वायु प्रदूषण अझै बढ्नसक्ने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार आज  काठमाडौँ विश्वको प्रदूषित सहरको सूचीमा पहिलो नम्बरमा सूचीकृत भएको छ ।

Advertisement:

Ad
Ad

वन डढेलो, ग्रामीण क्षेत्रमा इन्धनको रूपमा काठदाउरा तथा गुइँठाको प्रयोग, पेट्रोल तथा डिजेलजन्य सवारी साधनको प्रयोग, पुराना सवारी साधन, उद्योगधन्दा, अन्तर्देशीय वायु प्रदूषण आदिका कारण काठमाडौँ उपत्यकालगायत देशभरिका अधिकांश स्थानमा वायु गुणस्तर राष्ट्रिय तथा विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेको मापदण्डभन्दा निकै उच्च रहेको तथ्याङ्क सार्वजनिक भएको छ ।

वातावरण विभागका उपमहानिर्देशक तारादत्त भट्टले बढ्दो डढेलोसँगै उपत्यकामा प्रदूषण पनि ह्वात्तै बढेको बताए । उनले डढेलो नियन्त्रणका लागि सबै सरोकारवालाको समन्वय जरुरी रहेको बताए ।

“दिनानुदिन प्रदूषण बढिरहेको छ । एक्यूआई तीन सय पुगेपछि राज्यले आपत्कालीन घोषण गर्नुपर्ने हुन्छ ।” उनले वन डढेलो नियन्त्रण नभएसम्म प्रदूषण पनि बढ्दै जाने बताए ।