म बाँचुन्जेल नेपाली राजनीतिमा उथलपुथल कायमै रहन्छ : प्रधानमन्त्रि दाहाल

२०८० फागुन २१ गते

म बाँचुन्जेल नेपाली राजनीतिमा उथलपुथल कायमै रहन्छ : प्रधानमन्त्रि दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति फेरी नयाँ मोडमा आइपुगेको भन्दै आफू रहुन्जेल नेपाली राजनीतिमा उथलपुथल कायमै रहने बताएका छन् ।

सोमबार सहिद प्रतिष्ठान नेपालद्वारा आयोजित सहिद सप्ताह कार्यक्रममा उनले सो कुरा बताएका हुन् । प्रतिष्ठानले सप्ताहको अवसरमा ‘शान्ति प्रक्रिया, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो ।

Advertisement:

Ad
Ad

धेरैले आफूलाई बुझ्न नसकेको र अनप्रेडिक्टेबल नेता भनेर विश्लेषण गर्ने गरे पनि आफू त्यस्तो नरहेको उनले बताए । परिस्थितिलाई ध्यान दिँदै आफूले कदम चाल्ने गरेको र प्रतिक्रियावादीले आफूलाई घेराबन्दी गरेकै दिन लात्ती हानेर आफू बाहिरिने गरेको उनको भनाइ छ ।

कम्युनिस्ट शक्तिहरूले ठोस परिस्थितिको ठोस विश्लेषण गर्न नसक्दा पटक–पटक समस्यामा पर्ने गरेको चर्चा गर्दै प्रधानमन्त्री प्रचण्डले भने, “आज नयाँ क्रमभङ्गको दिन बनेको छ, सहिदको सपना पूरा गर्ने सङ्कल्प लिने दिन भएकाले सबै शक्ति एक ठाउँमा आउनुको विकल्प छैन ।”

'माओवादी जहिले पनि सिद्धान्त र व्यवहारका दृष्टिकोणले जमेर बस्ने पोखरीजस्तो होइन, गडगडाएर बग्ने नदीजस्तो हो । माओवादी निरन्तरतामा रमाएर बस्ने होइन, निरन्तरतामा क्रमभंगता गर्दै रमाउने जात हो,' प्रधानमन्त्री दाहालले भने ।

शान्ति प्रक्रिया टुङ्गो लगाउने काम भइरहेको र त्यो सङ्कल्प पूरा गरेर छाड्ने उनले प्रतिबद्धता व्यक्त गरेका छन् । क्रान्तिको बाटो कहिल्यै राजमार्गजस्तो सोझो नरहेको प्रधानमन्त्री प्रचण्डले बताए । सशस्त्र युद्ध सुरु भएदेखि हजारौँ सहिद भइसकेको र अझै पहिचान हुन बाँकी रहेकालाई सहिद घोषणाको काम जारी रहेको उहाँले बताए ।