२०८२ जेठ ०५ गते
ललितपुर । पाटन दरबार क्षेत्र, जहाँ इतिहासको गन्ध र आस्थाको ध्वनि एकसाथ घुलिन्छन् । विहानपखको वातावरण अरू बेला भन्दा भिन्न देखिन्छ—चारैतिर चराको चिरबिर, भजनको मधुर धुन, र मर्निङ वाकमा निस्किएकाहरुको भीडभाडले पाटन गुल्जार देखिन्छ ।
तर पाटन दरबार क्षेत्रको गुल्जारकाबीचमा दैनिक रोजीरोटी गर्नेहरुको अलग्गै जीवन र भिन्नै कथा छ । त्यही भीडभाडबीच जीवनयापनको खोजीमा जुटिरहेका केही अनुहारहरू छन्, जसले शहरको एउटा अर्को यथार्थ चित्रण गर्छन् ।यस्तै अनुहारमध्ये एक हुन् लाल बहादुर लोप्चन, जो काभ्रेका स्थायी बासिन्दा भए पनि हाल पाटनमै डेरागरी बस्छन् । उनी दैनिकजसो आफ्नै हातले बनाएका घरेलु कुचो लिएर पाटन मन्दिर परिसरमा पुग्छन् ।‘कुचोको मूल्य ९० रुपैयाँ हो,’ उनले भने,‘मैले नै बनाएको हुँ । घरबाट ल्याएर कुचो बाटेर विक्रीयोग्य बनाउँछु । र यही पाटन क्षेत्रमा विक्रीका लागि घुमाउँछु । यो मेरो मुख्य आयस्रोत हो ।’ उनको अनुहारमा आत्मनिर्भरताको भाव प्रष्ट देखिन्थ्यो ।

मन्दिर परिसरमै भेटिइन् सन्तमाया श्रेष्ठ, जो विगत पाँच वर्षदेखि यही क्षेत्रमै चिया बिक्री गर्दै आइरहेकी छिन् । ‘यहाँ बिहानैदेखि भजन गाउन आउनेहरू, तीर्थयात्री र पर्यटकलाई म चिया बेच्छु,’ सन्तमायाले भनिन,‘कालो र दूध चिया दुवै लिएर आउँछु । जसलाई जे मन पर्छ, त्यो दिन्छु ।’उनका अनुसार दैनिक तीनदेखि चार सय रुपैयाँसम्मको आम्दानी हुन्छ । जसबाट उनले कोठा भाडा र अन्य खर्च धानिरहेकी छन् ।यी दुई पात्र, जो सहरको व्यस्ततामाझ नदेखिने तर अत्यन्तै महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् । उनीहरूको संघर्ष, श्रम र सादगीले राजधानीको जीवनशैलीभित्रको मौन पक्ष उजागर गर्छ ।पाटनको विहान केवल धार्मिक वा सांस्कृतिक मात्रै होइन, यसभित्र आम मानिसको संघर्ष, श्रमको मूल्य र जीवनका साना सफलताका कथा पनि लुकेका छन् ।
यी अनुहारहरू त्यसैको उदाहरण हुन् । जो न त सन्देश दिन खोज्छन्, न भाषण र। तर उनीहरूको जीवनशैली आफैमा एउटा सन्देश हो—इमानदार श्रम कहिल्यै सानो हुँदैन । पाटन दरबार क्षेत्र वाह्य एवम आन्तरिक पर्यटकहरुको हब हो । सांस्कृतिक एवम ऐतिहासिक सम्पदाहरुको अवलोकन गर्न पर्यटकहरुको भीड लाग्ने गर्छ । सोही भीडमा मझौला र फुटपात व्यवसाय गर्ने सयौंको रोजीरोटी चलेको छ ।
प्रतिक्रिया