पत्रकार मिलन लिम्बू इलाम २ बाट स्वतन्त्र उम्मेदवार भएर उठ्ने

२०८० चैत ०४ गते

पत्रकार मिलन लिम्बू इलाम २ बाट स्वतन्त्र उम्मेदवार भएर उठ्ने

काठमाडौँ । पत्रकार तथा नेपाल आदिवासी जनजाती पत्रकार माहासंघ (फोनिज) का केन्द्रिय महासचिव मिलन लिम्बूले इलाम २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । काठमाडौंमा आईतबार आयोजित पत्रकार सम्मेलनमा उनले इलाम २ को उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार बन्न लागेको घोषणा गरेका हुन् ।

संविधानसभाका अध्यक्ष तथा नेकपा (एमाले) नेता सुबास नेम्वाङको मुत्युपछि इलाम २ को प्रतिनिधिसभा सिट रिक्त छ । इलाम २ मा १५ वैशाखमा उपनिर्वाचन हुँदैछ । ‘पार्टी होइन स्वतन्त्र, भ्रष्ट होइन इमान्दार !’ भन्ने नारासहित ‘सामाजिक न्याय, सुशासन, विकास र पहिचान’लाई आफ्नो अभियान बनाउँदै इलाम २ को उपनिर्वाचनमा उम्मेदवारी दिन लागेको लिम्बूले बताए ।

Advertisement:

Ad
Ad

व्यवस्था परिवर्तन भएपनि राजनीतिक दलहरुको गैरजिम्मेवारीपनले गर्दा नागरिकको अवस्था परिवर्तन नभएको बताउँदै लिम्बूले भने, ‘राजनीतिक दलहरुले नेपाली नागरिकसामू गरेका बाचाहरुलाई पुरा गर्नु त कहाँ हो कहाँ उनीहरु आफैलाई सर्वोपरी ठान्दै सत्ता लिप्सामा लिन हुन पुगे ।’ राजनीतिक दलहरुको सिण्डिकेट तोड्न र जनताको मतको सम्मानका लागि इलामेली नागरिकले आफूलाई उम्मेदवारी दिन लागाएको उनले भने ।

दलहरुले जनताको मत र विश्वासलाई विकास तथा समृद्धिमा लगाउनुको साटो भ्रष्टाचारका एकपछि अर्को काण्डमा लगाएको उनको आरोप थियो । उनले भने, ‘दलहरुले नागरिकप्रति गरेको अपमानको विकल्पमा देशैभर स्वतन्त्रहरुले उम्मेदवारी दिई रहेका छन्, मेरो उम्मेदवारी पनि त्यसैको निरन्तरता हो ।’

झण्डै डेढ दशकदेखि पत्रकारिता तथा इलामको सामाजिक सेवामा सक्रिय छन् लिम्बू । पत्रकारिताको माध्यमबाट निरन्तर आमजनताको सवाल उठाउँदै आएका लिम्बुले भने, ‘यतिका वर्ष मैले पत्रकारिताको माध्यमबाट आमजनताका सवाल उठाए । तर, तिनको समाधान भएन् । त्यसैले आफै राजनीतिको मैदानमा उत्रिएको हुँ ।’