२०८३ भदौ १७ गते
काठमाडौं । रसुवाको रसुवागढी क्षेत्रमा भदौ १० गते आएको विनाशकारी बाढीपछि स्याङ्जाका टिकाराम पोखरेल बारम्बार एउटै कुरा सम्झिरहेका छन्– ‘त्यो दिन मेरो परीक्षा नपरेको भए सायद म पनि बाढीमा हराउनेमध्ये एक हुन्थेँ।’
पोखरेल रसुवागढीस्थित अध्यागमन कार्यालयका वरिष्ठ अध्यागमन सहायक हुन्। नेपाल–चीन सीमा नजिकै रहेको उनको कार्यस्थल गत साता भोटेकोशीमा आएको भीषण बाढीबाट तहसनहस भएको क्षेत्रमध्ये एक हो।
बाढीपछि अध्यागमन कार्यालयका प्रमुख यादव भण्डारीसहित चार जना कर्मचारी बेपत्ता भएको खबर सार्वजनिक भएको थियो। पछि भण्डारीको शव पश्चिम नवलपरासीमा फेला परेको पुष्टि भयो।
पोखरेल भने बाढी आउनुभन्दा तीन दिनअघि नै परीक्षा दिन काठमाडौं फर्किएका कारण जोगिन सफल भए।
‘परीक्षाले नै जोगायो जस्तो लाग्छ’
सरकारी सेवामा प्रवेश गरेको झन्डै एक दशक भइसकेका पोखरेलका लागि भदौ १० गतेको दिन सामान्य कामकाजी दिनजस्तै हुनुपर्ने थियो। परीक्षा नपरेको भए उनी पनि कार्यालयका अन्य कर्मचारीसँगै बिहानैदेखि काममा खटिइरहेका हुन्थे।
भदौको त्यो समय कैलाश–मानसरोवर जाने तीर्थयात्री र पर्यटकको अत्यधिक चाप हुने भएकाले अध्यागमन कार्यालयमा कर्मचारीको व्यस्तता झनै बढ्ने गरेको थियो।
‘परीक्षाले गर्दा नै जोगिएको जस्तो मलाई लाग्छ। परीक्षा नभएको भए म पनि त्यहीँ हुन्थेँ होला,’ पोखरेलले भने, ‘यो कैलाश जाने तीर्थयात्रीको अत्यधिक भीड हुने समय हो।’
‘घट्टे खोलामा मात्रै ठूलो संख्यामा मानिस थिए’
पोखरेलका अनुसार अध्यागमन कार्यालय रहेको घट्टे खोला क्षेत्र विपद्का बेला निकै ठूलो मानवीय भीड भएको स्थान थियो। नेपालतर्फको अन्तिम बजारका रूपमा रहेको उक्त क्षेत्रमा चीनतर्फ जाने तीर्थयात्री मात्र नभई मालवाहक ट्रकका चालक तथा सहचालक, यात्रुवाहक सवारीका कर्मचारी, ट्राभल एजेन्सीका प्रतिनिधि र स्थानीयको समेत बाक्लो उपस्थिति हुने गर्छ।
उनका अनुसार त्यहाँ करिब ५० देखि ६० घर थिए। अध्यागमन कार्यालय आसपास जलस्रोत आयोजनाका चारवटा कार्यालयसमेत रहेका थिए।
‘मलाई लाग्छ, त्यही क्षेत्रमा मानवीय क्षति धेरै भएको हुन सक्छ,’ उनले भने।
पोखरेलका अनुसार बाढी आउनुअघि भदौ १० गते बिहान करिब ८ः२० बजे उनले कार्यालय प्रमुख यादव भण्डारीसँग कामकै सिलसिलामा फोनमा कुरा गरेका थिए।
त्यतिबेला चीनतर्फ जानका लागि मात्रै करिब ३०० देखि ४०० जना तीर्थयात्री लाइनमा रहेको भण्डारीले आफूलाई जानकारी गराएको पोखरेलले बताए। नेपाल प्रवेश गर्न चीनतर्फ कति मानिस थिए भन्ने यकिन तथ्यांक भने तत्काल उपलब्ध नहुने उनको भनाइ छ।
‘ती तीन–चार सय तीर्थयात्रीसँगै उनीहरूलाई परिचालन गर्ने ट्राभल गाइड, सवारी चालक, कर्मचारी र स्थानीय सबै जोड्दा घट्टे खोला क्षेत्रमा मात्रै करिब दुई हजार मानिस भएको हुनुपर्छ,’ पोखरेलले अनुमान गरे।
पोखरेलका लागि सबैभन्दा पीडादायी पक्ष आफूले लामो समयदेखि चिनेका स्थानीय र सहकर्मीहरूसँग सम्पर्क हुन नसक्नु हो।
गत वर्षको अन्त्यदेखि घट्टे खोलास्थित अध्यागमन कार्यालयमा कार्यरत रहेका उनी उक्त क्षेत्रमा आफूले चिनेका अधिकांश मानिस अझै सम्पर्कविहीन रहेको बताउँछन्।
‘त्यहाँका स्थानीय बासिन्दामध्ये कसैसँग पनि मेरो सम्पर्क हुन सकेको छैन। कोही भेटिनुभएको खबर पनि छैन,’ उनले भने।
ट्राभल व्यवसायमा आबद्ध आफ्ना दुई जना साथी भने परीक्षा वा अन्य कामका कारण काठमाडौं आएका रहेकाले बाँच्न सफल भएको उनले बताए। उनीहरूसँग अहिले पनि सम्पर्क भइरहेको छ।
तर, उनीहरूका अनुसार उद्धार र खोजीका क्रममा अहिलेसम्म न शव फेला परेको छ, न त बेपत्ताको सूचीमा स्पष्ट जानकारी आएको छ।
‘म त्यहाँ नभएकोमा आफूलाई भाग्यमानी ठानूँ कि, आफ्ना सहकर्मी र चिनेका मानिसको अवस्था सम्झेर दुःखी बनूँ, बुझ्नै सकिरहेको छैन,’ उनी भन्छन्।,बीबीसीबाट
प्रतिक्रिया