२०८० चैत १७ गते
काठमाडौँ । २०६३ सालदेखि प्रदान गरिँदै आएको “दण्डपाणि – नन्दकुमारी अर्ज्याल राष्ट्रिय पुरस्कार” यस वर्ष वरिष्ठ सीमाविद् बुद्धिनारायण श्रेष्ठलाई प्रदान गरिने भएको छ । वरिष्ठ ई. ईश्वरचन्द्र बानियाको अध्यक्षतामा बसेको स्मृतिकेन्द्रको कार्यसमितिको बैठकले श्रेष्ठलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
गोरखामा जन्मिएर भाषा साहित्यमा योगदान पुर्याएका विद्वान् धरोहर दण्डपाणि अर्ज्यालको नाममा काठमाडौँमा स्थापित दण्डपाणि अर्ज्याल स्मृतिकेन्द्रले उक्त पुरस्कार प्रदान गर्दै आएको छ । स्मृतिकेन्द्रले इतिहास, साहित्य, संस्कृति, ज्योतिष, समाज सेवा लगायतका विविध विषयहरूमा राष्ट्रियस्तरमा योगदान दिएका विद्वान् विदुषीलाई प्रत्येक वर्ष पुरस्कार समर्पण गर्दै आएको छ ।
सीमा र सुरक्षा विषयमा गहन अनि महत्त्वपूर्ण योगदान पुर्याएका प्रतिष्ठित विद्वान् वरिष्ठ सीमाविद् बुद्धिनारायण श्रेष्ठलाई ५०,००० राशिको उक्त पुरस्कार प्रदान गरिने भएको हो । पुरस्कार चैत्र महिनाभित्र एक कार्यक्रम आयोजना गरी प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।
यसअघि ज्ञानमणि नेपाल, मदनमणि दीक्षित, प्रा. डा. तुलसीराम वैद्य, प्रा दिनेशराज पन्त, सत्यमोहन जोशी, प्रा. डा. सुरेशराज शर्मा, प्रा डा सुरेन्द्र केसी, साहित्यकार पुण्यरश्मि खतिवडा, डा. मोदनाथ प्रश्रित, विदुषी रमा शर्मा, प्राज्ञ विष्णु प्रभात लगायतका विद्वान् विदुषीहरूलाई उक्त पुरस्कार प्रदान गरिसकिएको छ ।
प्रतिक्रिया