घरजग्गा कारोबारमा सुधार, कारोबार रकम ७ खर्ब नाघ्यो

२०८३ भदौ ३० गते

घरजग्गा कारोबारमा सुधार, कारोबार रकम ७ खर्ब नाघ्यो

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा नेपालमा घरजग्गा कारोबारको गतिविधि उल्लेख्य रूपमा बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा वर्षमा घरजग्गाको कुल कारोबार संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा ४.७४ प्रतिशतले बढेको छ।अघिल्लो आर्थिक वर्षमा घरजग्गा कारोबार संख्या १.८४ प्रतिशतले घटेको थियो। तर चालु समीक्षा वर्षमा भने कारोबारमा सुधार देखिएको हो।

 

Advertisement:

Ad
Ad


समीक्षा वर्षको चौथो त्रैमासिकमा मात्रै घरजग्गा कारोबार संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२.२५ प्रतिशतले बढेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ। अघिल्लो वर्षको सोही अवधिमा कारोबार संख्या १४.६५ प्रतिशतले बढेको थियो।


लिखत पारित र राजीनामा कारोबार पनि बढ्यो

घरजग्गा कारोबारअन्तर्गत लिखत पारिततर्फको कारोबार संख्या समीक्षा अवधिमा १२.२८ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासिकमा यस्तो कारोबार १५.४५ प्रतिशतले बढेको थियो।त्यस्तै, लिखत पारितअन्तर्गत राजीनामा कारोबारको संख्या २२.८८ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको चौथो त्रैमासिकमा यस्तो कारोबार ८.१५ प्रतिशतले मात्रै बढेको थियो।


कारोबारको क्षेत्रफल १५ प्रतिशतभन्दा बढी बढ्यो

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा घरजग्गा कारोबार भएको कुल क्षेत्रफल १५.४१ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो क्षेत्रफल २.९८ प्रतिशतले घटेको थियो।यसले कारोबारको संख्या मात्र नभई कारोबारमा आएको जग्गाको क्षेत्रफलसमेत बढेको देखाएको छ।


घरजग्गा कारोबार ७ खर्ब २० अर्बभन्दा बढी

आर्थिक वर्ष २०८२/८३ मा घरजग्गा कारोबारको कुल कारोबार रकम रु। ७ खर्ब २० अर्ब ८६ करोड पुगेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो कारोबार रकम रु। ३ खर्ब ८६ अर्ब १५ करोड रहेको थियो। त्यस्तै, आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकमा मात्रै घरजग्गा कारोबार रकम  २ खर्ब ७५ अर्ब ७३ करोड पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो कारोबार रकम  १ खर्ब २७ अर्ब ६१ करोड थियो।

 


सरकारको राजस्वमा पनि ठूलो वृद्धि

घरजग्गा कारोबारबाट संकलन हुने राजस्वसमेत उल्लेख्य बढेको छ। समीक्षा अवधिमा घरजग्गा कारोबारबाट संकलित राजस्व ४८.२६ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ। त्यस्तै, घरजग्गा कारोबारबाट संकलित पुँजीगत लाभकर ६३.२२ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा पुँजीगत लाभकर २९.९८ प्रतिशतले बढेको थियो।

 


घरजग्गा क्षेत्रमा बैंक कर्जा प्रवाह पनि बढ्यो

घरजग्गा क्षेत्रमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जामा समेत वृद्धि देखिएको छ। आवासीय घरजग्गा कर्जासहित घरजग्गा क्षेत्रमा प्रवाह भएको बैंक कर्जा समीक्षा अवधिमा ६.९३ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासिकमा यस्तो कर्जा ५.८६ प्रतिशतले बढेको थियो।राष्ट्र बैंकको तथ्यांकले पछिल्लो वर्ष घरजग्गा बजारमा कारोबार संख्या, कारोबार क्षेत्रफल, कारोबार रकम, सरकारी राजस्व र बैंक कर्जा प्रवाह—सबै सूचकमा सुधार देखिएको संकेत गरेको छ।