खल्तीबाटै देशभरका ३०० भन्दा बढी होटल बुकिङ गर्न सकिने

२०८३ भदौ २६ गते

खल्तीबाटै देशभरका ३०० भन्दा बढी होटल बुकिङ गर्न सकिने

काठमाडौं। आइएमई खल्ती लिमिटेडले देशभरका होटल बुकिङ गर्न सकिने ‘खल्ती होटल्स’ सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। नयाँ सेवामार्फत प्रयोगकर्ताले खल्ती एपबाटै नेपालभरका ३०० भन्दा बढी ३ देखि ५ तारे होटल तत्काल बुकिङ गरी भुक्तानी गर्न सक्नेछन्।

स्याफायर म्यानेजमेन्ट ग्रुप प्रालिसँगको प्राविधिक साझेदारीमा सुरु गरिएको खल्ती होटल्सको बुकिङ प्रक्रिया पूर्ण रूपमा स्वचालित रहेको कम्पनीले जनाएको छ। भुक्तानी पुष्टि हुनासाथ प्रयोगकर्ताले तत्कालै होटल बुकिङको कन्फर्मेसन प्राप्त गर्नेछन्।

Advertisement:

Ad
Ad

 

यससँगै खल्तीले आन्तरिक उडान तथा बस टिकट बुकिङसँगै होटल बुकिङको सुविधा पनि एउटै प्लेटफर्ममा उपलब्ध गराएको छ। यसले खल्तीलाई डिजिटल भुक्तानी सेवाबाट विस्तार गर्दै सम्पूर्ण यात्रा व्यवस्थापनका लागि एकीकृत प्लेटफर्मका रूपमा अघि बढाउने कम्पनीको योजनालाई थप बल दिएको छ।

‘यात्रा अझ सजिलो, खल्तीमै’ भन्ने अभियानसहित सुरु गरिएको सेवामा कम्पनीले सुरुवाती अफरसमेत ल्याएको छ। अफर अवधिभर होटल बुकिङ गर्ने प्रयोगकर्तामध्ये गोलाप्रथाबाट छानिएका २० जना भाग्यशाली विजेताले प्रत्येक बुकिङमा अधिकतम १ हजार ५०० रुपैयाँसम्मको ५० प्रतिशत क्यासब्याक प्राप्त गर्नेछन्।

 

आइएमई खल्ती लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले आन्तरिक पर्यटन बढिरहेको समयमा उडान, बस र होटल एउटै एपबाट बुक गर्न सकिने सुविधाले नेपाली यात्रुको अनुभवलाई थप सहज बनाउने बताए।

उनका अनुसार खल्ती होटल्स कम्पनीको ‘एउटै एपमा सम्पूर्ण यात्रा’ भन्ने दीर्घकालीन लक्ष्यतर्फको महत्वपूर्ण कदम हो।

 

स्याफायर म्यानेजमेन्ट ग्रुपका निर्देशक आशिष प्रसाईले खल्तीसँगको साझेदारीले नेपालका होटल व्यवसायीलाई १ करोडभन्दा बढी डिजिटल प्रयोगकर्तासम्म प्रत्यक्ष पहुँच पुर्‍याउन सहयोग गर्ने बताए। यसबाट यात्रुले भरपर्दो तथा प्रमाणित होटल छनोट गरी बुकिङ गर्न सक्ने उनको भनाइ छ।

खल्ती होटल्स सेवा खल्ती एपको ‘ट्राभल तथा इन्टरटेनमेन्ट’ खण्डमा उपलब्ध छ। बुकिङसम्बन्धी समस्या वा सहयोगका लागि प्रयोगकर्ता तथा होटल व्यवसायी दुवैलाई ग्राहक सहायता सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ।