दुई दिनको गिरावटपछि नेप्सेमा सुधार

२०८२ चैत १७ गते

दुई दिनको गिरावटपछि नेप्सेमा सुधार

नेप्सेमा मंगलबार दोहोरो अङ्कको सुधार देखिएको छ। अघिल्ला दुई दिनदेखि लगातार ओरालो लागेको नेप्से परिसूचक यस दिन भने हरियो संकेतमा बन्द भएको हो।

कारोबारको सुरुवाती चरणमै २८०० विन्दुभन्दा तल झरेको नेप्सेले त्यही आसपासमा टेवा पाएपछि पुनः उकालो समातेको थियो। अन्ततः परिसूचक १९.७० अंकले वृद्धि हुँदै २८५१.०९ विन्दुमा पुगेको छ।

Advertisement:

Ad
Ad

 

यस दिन सेन्सेटिभ इण्डेक्स ३.२६ अंकले बढ्दा फ्लोट इण्डेक्स १.२४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०२ अंकले उकालो लागेको छ। यद्यपि परिसूचक बढेपनि कारोबार रकममा भने गिरावट देखिएको छ। सोमबार करिब १३ अर्ब रुपैयाँको कारोबार भएको बजारमा मंगलबार ३३९ कम्पनीका १ लाख ३७ हजार ८५७ पटकको कारोबारबाट ११ अर्ब ११ करोड २४ लाख रुपैयाँभन्दा बढीको २ करोड ७९ लाख कित्ता सेयर किनबेच भएको छ।

यस दिन पाँच कम्पनीका सेयर मूल्य सकारात्मक सर्किट लेभलमा पुगेका छन्। रिलायन्स स्पिनिङ्ग मिल्स, भुजुङ्ग हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, रिज लाइन इनर्जी र होटल फरेष्ट इनका लगानीकर्ताले अधिकतम नाफा कमाएका हुन्।

 

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको सेयर मूल्य करिब १० प्रतिशतले उकालो लाग्दा अन्य केही कम्पनीका सेयर पनि ४ प्रतिशतभन्दा बढीले बढेका छन्। विपरीततर्फ सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य भने सबैभन्दा बढी ८.९६ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी अग्रस्थानमा रह्यो, जसको करिब ४८ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भयो। त्यसपछि अपि पावर कम्पनीको करिब ४१ करोड रुपैयाँ र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको साढे ३७ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ।

 

उपसमूहगत रूपमा हेर्दा १३ मध्ये ११ उपसमूहका सूचक बढेका छन् भने दुई उपसमूह घटेका छन्। उत्पादन तथा प्रशोधन उपसमूह सर्वाधिक १.९४ प्रतिशतले उकालो लाग्दा वित्त उपसमूह १ प्रतिशतभन्दा बढी र होटल तथा पर्यटन उपसमूह करिब १ प्रतिशतले बढेका छन्। यस्तै, म्युचुअल फण्ड र अन्य उपसमूहमा भने सामान्य गिरावट देखिएको छ।