भोटेकोशी बाढी : भारतबाट ११ सदस्यीय सुरुङ उद्धार टोली परिचालन, चीनबाट पनि टोली आउँदै

२०८३ भदौ १३ गते

भोटेकोशी बाढी : भारतबाट ११ सदस्यीय सुरुङ उद्धार टोली परिचालन, चीनबाट पनि टोली आउँदै

काठमाडौं । भोटेकोशी बाढीपछि सुरुङमा फसेका व्यक्तिको उद्धार तथा जीवित व्यक्तिको अवस्थिति पत्ता लगाउन भारतले ११ सदस्यीय विशेष प्राविधिक टोली नेपाल पठाएको छ । चीनबाट पनि सुरुङ उद्धारमा विशेषज्ञ टोली नेपाल आउने तयारीमा रहेको सरकारले जनाएको छ ।

 

Advertisement:

Ad
Ad

शनिबार आयोजित भोटेकोशी बाढीसम्बन्धी प्रेस ब्रिफिङमा परराष्ट्रमन्त्री शिशिर खनालले सुरुङ उद्धार, फरेन्सिक तथा डीएनए परीक्षण र शव व्यवस्थापनका लागि नेपालले मित्रराष्ट्रसँग विशेष तथा प्राविधिक सहयोग मागेको जानकारी दिए ।‘भारतबाट सुरुङ उद्धारका लागि ११ सदस्यीय विशेष प्राविधिक टोली परिचालन भइसकेको छ भने चीनबाट सुरुङ उद्धार टोली पनि चाँडै नेपाल आइपुग्ने अपेक्षा गरिएको छ,’ मन्त्री खनालले भने ।

 

भोटेकोशी बाढीपछि नेपाली तथा विदेशी नागरिकसहित ठूलो संख्यामा मानिस सम्पर्कविहीन रहेकाले सरकारले खोजी तथा उद्धारलाई उच्च प्राथमिकता दिएको छ । मन्त्री खनालका अनुसार हालसम्म प्रभावित क्षेत्रबाट ६२६ जनाको शव फेला परेको छ भने करिब २ हजार ४ सय जना अझै सम्पर्कविहीन छन् । उद्धार गरिएकामध्ये ४ हजार ४५० भन्दा बढी रहेका छन्, जसमा १८७ भन्दा बढी विदेशी नागरिक छन् ।

 

विदेशी नागरिकसमेत ठूलो संख्यामा बेपत्ता भएपछि परराष्ट्र मन्त्रालयले छुट्टै आपत्कालीन नियन्त्रण कक्ष स्थापना गरेको छ । मन्त्रालयका अनुसार कूटनीतिक नियोगमार्फत प्रमाणित सूचनाको आदानप्रदान तथा अद्यावधिक गर्ने, परिवारसँग सम्पर्क गराउने, पहिचान तथा स्वदेश फिर्ताको प्रक्रियामा सहजीकरण गर्ने काम भइरहेको छ ।

 

मन्त्री खनालले भोटेकोशी बाढीको पूर्ण कारण अझै यकिन नभएको बताए । अहिले सरकारको मुख्य प्राथमिकता खोजी, उद्धार, राहत र पुनःस्थापना रहेको उनको भनाइ छ ।बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङ र चितवनमा सुरक्षा निकाय, प्रदेश तथा स्थानीय सरकार, स्वास्थ्यकर्मी र आपत्कालीन उद्धारकर्मीको टोली परिचालन गरिएको छ । प्रभावित क्षेत्रमा आकस्मिक स्वास्थ्य उपचार, खाद्यान्न, सुरक्षित खानेपानी, अस्थायी आश्रयलगायत अत्यावश्यक सामग्री उपलब्ध गराउने काम भइरहेको सरकारले जनाएको छ ।

 

भारतबाट हालसम्म ५७ टनभन्दा बढी राहत सामग्री प्राप्त भएको पनि मन्त्री खनालले जानकारी दिए । चीन, जापान, अस्ट्रेलियालगायत मित्रराष्ट्रबाट समेत अत्यावश्यक सामग्री प्राप्त भइरहेको उनले बताए ।बाढीका कारण महत्वपूर्ण पूर्वाधार, घर, सडक, पुल तथा जलविद्युत् आयोजनामा व्यापक क्षति पुगेको सरकारले जनाएको छ । क्षतिको विस्तृत मूल्यांकन भइरहेको र पुनःस्थापना तथा पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक पर्ने मन्त्री खनालले बताए ।

 

नेपालले अन्तर्राष्ट्रिय सहायता अस्वीकार गरेको भन्ने समाचार गलत भएको स्पष्ट पार्दै उनले उद्धार तथा राहतसँगै पुनर्निर्माणका लागि समेत अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताए ।

उनले खोजी तथा पहिचानको काम जारी रहेकाले मृत्यु, बेपत्ता तथा क्षतिको तथ्यांक परिवर्तन हुन सक्ने भन्दै आधिकारिक रूपमा प्रमाणित सूचनामा मात्र भर पर्न सञ्चारमाध्यम तथा सर्वसाधारणलाई आग्रह गरेका छन् ।

यसैबीच, नदी प्रणाली तथा तल्लो तटीय क्षेत्रमा हुन सक्ने बाढीको जोखिमलाई सरकारले निरन्तर निगरानीमा राखेको जनाएको छ ।