२०८२ असार २६ गते
नेपालको वैदेशिक व्यापारको संरचना विगत सात दशक यता लगातार परिवर्तन हुँदै आएको छ । सन् १९५०/६० को दशकसम्म नेपालको अन्तर्राष्ट्रिय व्यापार भारतभन्दा अन्य मुलुकहरूसँग बढी केन्द्रित थियो भने १९९० को दशकपछि भारततर्फ पुनः निर्भरता बढेको देखिन्छ । हालसालैको तथ्यांक अनुसार, नेपालको कुल वैदेशिक व्यापारको करिब ६५ देखि ७० प्रतिशत हिस्सा भारतसँग, करिब २० प्रतिशत चीनसँग र बाँकी अन्य देशहरूसँग रहेको छ । व्यापार घाटा निरन्तर चुलिँदै जाँदा लगभग वार्षिक बजेटकै हाराहारीमा पुग्ने स्थिति देखिएको छ ।
विदेशमा गएका लाखौँ युवाबाट आएको रेमिट्यान्सको ठूलो हिस्सा पनि उपभोगजन्य आयातमा खर्च हुने गरेको छ, जसले देशको व्यापार घाटा बढाउन सहयोग पु¥याएको छ । उत्पादन नहुने र परनिर्भरता बढ्दो अवस्थामा रहेको यो स्थिति नेपालका लागि चुनौती हो । तर यस पटकको तथ्यांकले केही आशा जगाउने संकेत पनि देखाएको छ ।
निर्यातमा सुधारको संकेत
भन्सार विभागका अनुसार, चालु आर्थिक वर्षको ११ महिनामा (साउनदेखि जेठ मसान्तसम्म) नेपालले १८ खर्ब ९२ अर्ब ३६ करोड ७७ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । गत वर्ष सोही अवधिमा यो आँकडा १५ खर्ब ९२ अर्ब ९६ करोड रुपैयाँ मात्र थियो । यस वर्ष व्यापारमा १८.८० प्रतिशतको वृद्धि भएको देखिन्छ । सँगसँगै व्यापार घाटा पनि बढेको छ । गत वर्षको सोही अवधिमा १३ खर्ब १४ अर्ब ४४ करोड रुपैयाँ घाटा रहेकोमा यस वर्ष यो घाटा १३ खर्ब ९७ अर्ब २२ करोड रुपैयाँ पुगेको छ, जुन ६.३० प्रतिशतको वृद्धि हो । यद्यपि, कुल व्यापारमा आयातको हिस्सा भने केही घटेको छ ।
गत वर्ष :आयात– ९१.२६%, निर्यात– ८.७४%
यस वर्ष : आयात– ८६.९२%, निर्यात– १३.०८%
यो तथ्यांकले निर्याततर्फ केही सुधारको संकेत गर्छ । विशेषगरी, नपालको निर्यातमा कफी, चिया, भटमासको सम्भावना राम्रो देखिएको छ । नेपालका निर्यातयोग्य वस्तुहरूमा कफी अग्रपङ्क्तिमा पर्छ । यद्यपि विश्व बजारको कुल मागको जम्मा ७ देखि १० प्रतिशत मात्र आपूर्ति गर्न सकिरहेको परिस्थति छ । उपयुक्त हावापानी र माटो हुँदाहुँदै पनि उत्पादन र निर्यात विस्तारमा सरकारी रणनीति कमजोर देखिन्छ । त्यस्तै, इलामको चियाको निर्यातमा राम्रो वृद्धि भएको छ । दार्जिलिङको चियाको उत्पादन घट्दा पनि नेपालले यस वर्ष चिया निर्यातमा राम्रो लाभ लिएको छ । अन्य उल्लेखनीय निर्यात भएका वस्तुहरूमा भटमास, पाम आयल, फलामका पाताहरू, अचार, अम्रिसो, मरिच, टिमुर तथा हस्तकला वस्तुहरू रहेका छन् । यी वस्तुहरूको मूल्य अभिवृद्धि गरेर निर्यात गर्दा आयमा उल्लेखनीय सुधार देखिएको छ ।
वास्तवमा नेपालको नीति भने अन्योलपूर्ण छ । स्पष्ट निर्यात प्रबद्र्धन नीति र त्यसको कार्यान्वयनको अभावले सम्भावना हुँदा–हुँदै पनि उपयोग गर्न सकिएको छैन । दोहोरो घाटाको अवस्था छ । आत्मनिर्भर उत्पादन नहुँदा आयात बढ्ने र निर्यात योग्य वस्तु नहुँदा आम्दानी गुम्ने अवस्था कायमै छ ।
१६१ देशसँग व्यापार, १२४ देशसँग घाटा
नेपालले चालु आर्थिक वर्षको पहिलो ११ महिनामा १६१ देशसँग वैदेशिक व्यापार गरेको छ । तर, तीमध्ये ३७ देशसँग मात्रै व्यापार नाफामा रहँदा बाँकी १२४ देशसँग घाटा व्यहोरेको छ । नेपालको सबैभन्दा ठूलो व्यापार घाटा भारतसँग देखिएको छ । आर्थिक वर्षको जेठ मसान्तसम्म भारतबाट करिब ९ खर्ब ७७ अर्ब १३ करोड ८० लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । उता निर्यात भने जम्मा दुई खर्ब ८९ करोड ८१ लाख रुपैयाँमा सीमित रह्यो । यस अनुसार भारतसँगको व्यापार घाटा सात खर्ब ७६ अर्ब २३ करोड ९९ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, चीनसँगको व्यापारमा पनि नेपालले ठूलो घाटा व्यहोरेको छ । चीनबाट तीन खर्ब १३ अर्ब ५७ करोड ५६ लाख रुपैयाँको वस्तु आयात हुँदा निर्यात जम्मा दुई अर्ब ४८ करोड १७ लाख रुपैयाँ बराबरको मात्र भयो । चीनसँगको व्यापार घाटा तीन खर्ब १२ अर्ब ९ करोड ३९ लाख रुपैयाँ पुगेको छ ।
दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनासँग पनि नेपालले ठूलो व्यापार घाटा व्यहोरेको छ । अर्जेन्टिनाबाट ८६ अर्ब ४१ करोड २ लाख रुपैयाँको वस्तु आयात हुँदा निर्यात भने ३३ लाख ५५ हजार रुपैयाँमै सीमित रह्यो । यसरी अर्जेन्टिनासँगको घाटा ८६ अर्ब ४० करोड ६९ लाख रुपैयाँ पुगेको छ।त्यस्तै, युएईसँगको व्यापार घाटा २२ अर्ब १९ करोड ६९ लाख रुपैयाँ छ । युएईबाट २४ अर्ब ८१ करोड ९५ लाखको वस्तु आयात गरिएकोमा निर्यात दुई अर्ब ६२ करोड २५ लाख रुपैयाँको मात्र रह्यो ।युक्रेनसँग पनि नेपालले २४ अर्ब २४ लाख रुपैयाँ घाटा व्यहोरेको छ । युक्रेनबाट २४ अर्ब ९१ लाखको वस्तु आयात भएको छ भने निर्यात जम्मा ६६ लाख २९ हजार रुपैयाँमा सीमित छ ।
समग्रमा हेर्दा, नेपालले आयातमा अत्यधिक निर्भरता र आन्तरिक उत्पादन बढाउन नसक्दा अधिकांश मुलुकहरूसँग व्यापार घाटा व्यहोर्नु नियती बनेको छ ।
अन्य केही मुलुकहरूसँगको व्यापार घाटा (रूपैयाँमा)
अमेरिका : ७ अर्ब ६२ लाख
अष्ट्रेलिया : १७ अर्ब २८ लाख
इन्डोनेसिया : १३ अर्ब ५६ करोड ५७ लाख
थाइल्यान्ड :१३ अर्ब २ करोड ४५ लाख
मलेसिया :१२ अर्ब ५१ करोड ८२ लाख
दंगाल अर्थविद् एवं त्रिभुवन विश्वविद्यालयका प्राध्यापक हुन् ।
प्रतिक्रिया