२०८२ असार १५ गते
नेपालमा दूध तथा दुग्ध पदार्थको प्रबर्द्धन र समग्र विकासमा नेपाल डेरी एसोसिएसनले महत्वपूर्ण योगदान गर्दै आइरहेको छ । देशभर रहेका घरेलु, साना, मझौला र ठूला गरी डेरी उद्योगहरुको छाता संस्था रहँदै समग्र दुग्ध क्षेत्रको हितमा एसोसिएसनले निरन्तर आफ्ना गतिविधिहरु अगाडि बढाइरहेको छ । दूध तथा दुग्ध पदार्थसँग जोडिएका हरेक गतिविधिमा अग्र मोर्चामा रहेर हामीले काम गरिरहेका छौं भने यो क्षेत्रमा देखिएका नीतिगत समस्याहरुको सुधारका लागि समेत निरन्तर पहल गर्दै आइरहेको छ । यो संस्थाले किसान र उद्योगहरुको हकहितमा आवाज उठाउँदै दूध तथा दुग्ध पदार्थक्क खपत बढाउन पनि उत्तिकै काम गरिरहेको छ।
यसैक्रममा नेपाल डेरी एसोसिएसनले असार १५ को अवसरमा दही चिउरा प्रबर्द्धन कार्यक्रम आयोजना गर्दै आएको छ । यसैबीच काठमाडौंको सिनामंगलस्थित होटल रोयल एअरपोर्टमा असार १२ गते एसोसिएसनले बिहीबार दही च्युरा खाने कार्यक्रम सम्पन्न गरेको थियो। सो कार्यक्रममा नेपाल सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री माननीय रामनाथ अधिकारीको विशेष उपस्थिति रहेको थियो ।
हरेक वर्ष जस्तै यो वर्ष पनि असार १५ को उपलक्ष्यमा दही चिउराको प्रबर्द्धन र खपत बढाउने अभियानमा एसोसिएसन जोडिएको छ । असार १५ लाई मानो रोपेर मुरी फलाउने, धान दिवसको रुपमा मनाउने र दही चिउरा खाने दिनको रुपमा पनि मनाउने गरिएको छ । असार १५ मा देशभर करीब ८० लाख लिटर दही खपत हुने र सो बापत करिब १ अर्ब ४० करोड रुपैयाँको कारोबार हुने अनुमान गरिएको छ ।
दही चिउरा खानु हाम्रो संस्कृति हो र यस्ता कार्यक्रमलाई सबैले प्राथमितामा राख्नुपर्छ । किसानले उत्पादन गरेको दूध तथा दुग्ध पदार्थ खपतमा वृद्धि ल्याउन पनि यस्ता खालका कार्यक्रमले सकारात्मक योगदान गर्ने हामीले विश्वास लिएका छौं । असार १५ को अवसरमा नेपाल डेरी एसोसिएसनले केन्द्रीय स्तरमा दही चिउरा प्रबर्द्धन कार्यक्रम गर्दै आएको छ भने एसोसिएसन अन्तर्गतका प्रदेश तथा जिल्ला शाखाहरुले पनि विविध कार्यक्रम गर्ने गरेका छन् ।
असार १५ नेपालको संस्कृतिसँग जोडिएको पर्व हो । विशेष गरी दही चिउरा खाएर असार १५ मनाउने हाम्रो मौलिक परम्परा नै बनेको छ । असार १५ मनाउँदा दही चिउराको खपत बढ्ने छ भने हाम्रो संस्कृतिको जगेर्नामा पनि टेवा पुग्नेछ । हामीले हाम्रो देशको पहिचान जोगाउन पनि यस्ता किसिमका चाड, पर्व, दिवस१ रितिरिवाज ,परम्परा जोगाउँदै भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्छ । कुनै पनि देशको पहिचान भनेकै यस्तै किसिमका कुराहरु नै हुन् । असार १५ मा अनिवार्य दही चिउरा खाऔं आफ्ना बालबालिकालाई यसको महत्वको बारेमा जानकारी गराऔं ।
यस्ता छन् दही सेवनको महत्व
-शरीरलाई पोषण दिन्छ । दही प्रोटिन, क्याल्सियम, भिटामिन बी–१२ र अन्य पोषण तत्वहरूले भरिपूर्ण हुन्छ ।
-शरीरलाई आवश्यक ऊर्जा र पोषण दिन सघाउँछ ।
-पाचन प्रक्रियालाई सुदृढ बनाउँछ । दहीमा भएका प्रोबायोटिक्स (असल ब्याक्टेरिया) ले खाना पच्न सजिलो बनाउँछ र कब्जियत, ग्यासजस्ता समस्या कम गर्छ ।
-हड्डी र दाँतलाई बलियो बनाउँछ । क्याल्सियम र फस्फोरसजस्ता तत्वका कारण दही सेवन गर्दा हड्डी र दाँत मजबुत हुन्छन् ।
-रोग प्रतिरक्षा प्रणालीलाई सुदृढ बनाउँछ । दही नियमित सेवन गर्दा शरीरको रोग प्रतिरोधक क्षमतालाई बढाउँछ र रुघाखोकी, संक्रमणजस्ता समस्या कम गर्छ ।
-छालालाई स्वस्थ र चमकदार बनाउन सघाउँछ । दहीमा भएका ल्याक्टिक एसिड र पोषण तत्वहरूले छालालाई नरम र चमकदार बनाउन सघाउँछन् ।
यस्ता छन् सांस्कृतिक महत्त्व
-नेपाली संस्कृतिमा दहीलाई शुभकार्य र सगुनका रूपमा प्रयोग गरिन्छ (दही–चिउरा, दही–चिनी) र विशेष पर्वहरूमा यसको विशेष स्थान रहेको छ ।
-मानसिक सन्तुलन र तनाव कम गर्न सघाउँछ । दही सेवन गर्दा शरीरमा सेरोटोनिन नामक रसायनको मात्रा बढ्छ, जसले तनाव कम गरी मुड सन्तुलन कायम गर्छ ।
लेखक नेपाल डेरी एसोसियसनका अध्यक्ष हुन् ।
प्रतिक्रिया