डेडिकेटेड ट्रंक लाइन विवाद उत्कर्षमा : उद्योगीले प्रधानमन्त्रीलाई भेट्ने, कुलमानले प्रमाण सहित पत्रकार सम्मेलन गर्ने

२०८० पुस १२ गते

डेडिकेटेड ट्रंक लाइन विवाद उत्कर्षमा : उद्योगीले प्रधानमन्त्रीलाई भेट्ने, कुलमानले प्रमाण सहित पत्रकार सम्मेलन गर्ने

काठमाडौं । डेडिकेटेड ट्रंक लाइन विवादका सम्बन्धमा आज (बिहीबार) २ बजे उद्योगीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्ने भएका छन् ।

नेपाल विद्युत् प्राधिकरणले ९ वटा उद्योगको लाइन काटिसकेको कारण थप उद्योगको लाइन नकाट्न र महशुल विवादमा सहजीकरण गरिदिन आग्रह गर्दै उद्योगीले प्रधानमन्त्रीसँग भेट गर्न लागेका हुन् । उद्योगीहरुलाई बिहान ९ बजेको समय दिएका प्रधानमन्त्रीले कार्यव्यस्तता देखाउँदै दिउँसो २ बजेका लागि समय सारेका छन् ।

Advertisement:

Ad
Ad

डेडिकेटेड र ट्रंक लाइनबाट लिइएको बिजुलीको शुल्क उद्योगीले तिर्न बाँकी रहेको र सो रकम नतिरेको भन्दै प्रधानमन्त्री दाहालकै निर्देशनमा प्राधिरणले उद्योगको लाइन काट्न शुरु गरिसकेको छ ।

उद्योगीले प्रधानमन्त्री भेट गरेकै समयमा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले २ बजे नै पत्रकार सम्मेलन गर्ने भएका छन् ।

प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनका सम्बन्धमा आज पत्रकार सम्मलेन गरेर यथार्य जानकारी गराउने र उद्योगीले तिर्नुपर्ने रकमको प्रमाणसहित जानकारी दिने बताएको छ । प्राधिकरणको दाबी अनुसार विभिन्न ६१ वटा उद्योगले करिब २२ अर्ब रुपैयाँको हाराहारीमा रकम तिर्न बाँकी छ ।

उद्योगीहरुले भने आफूहरुले प्रयोग नै नगरेको बिजुलीको विल प्राधिकरणले पठाएको भन्दै विल अस्वीकार गर्दै आएका छन् । उद्योगीहरुले प्राधिकरणले टीओडी मिटरको तथ्यांक देखाएर प्रयोग गरेको प्रमाण दिनसके मात्रै विल तिर्ने बताउँदै आएका छन्।

यसअघि बुधबार विद्युत महशुलको विवादबारे स्पष्ट पार्न भन्दै नेपाल विद्युत प्राधिकरणले आफैंले डाकेको पत्रकार सम्मेलन बिना सूचना स्थगित गरेको थियो । निर्धारित समयमा पत्रकार पुग्दा प्राधिकरणले कुनै कारण नदेखाई पत्रकार सम्मेलन स्थगित भएको जानकारी गराएको थियो ।