२०८३ भदौ २३ गते
काठमाडौँ । नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदार (केयर गिभर) का रूपमा जान इच्छुक नेपाली नागरिकका लागि आवेदन खुला गरिएको छ ।
वैदेशिक रोजगार विभागले जारी गरेको सूचना अनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदार छनोटका लागि १ हजार ४६४ जना माग गरिएको हो । मागमध्ये १ हजार १३२ जना महिला र ३३२ जना पुरुष छन् । छनोट भएका कामदारले इजरायली सरकारको नियमअनुसार काम गर्नुपर्ने छ ।
इच्छुक कामदारले असोज २६ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सकिने विभागले जनाएको छ । आवेदन विभागको वेबसाइटमा उपलब्ध प्रणालीमार्फत बुझाउनुपर्नेछ ।
यस्ता छन् योग्यता
आवेदक नेपाली नागरिक हुनुपर्नेछ । आवेदन दिने अन्तिम दिनसम्म २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ । साथै, कम्तीमा १।५ मिटर उचाइ र ४५ किलोग्राम तौल भएको हुनुपर्ने सूचनामा उल्लेख छ ।
शैक्षिक योग्यताका रूपमा कम्तीमा कक्षा १० उत्तीर्ण गरी अनमी वा सीएमए सम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको वा १०ं+२ वा सो सरहको शैक्षिक योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यता प्राप्त संस्थाबाट केयरगिभिङसम्बन्धी कम्तीमा तीन महिनाको तालिम लिएको हुनुपर्नेछ ।
आवेदकसँग आवेदन दिने अन्तिम मितिसम्म कम्तीमा एक वर्ष अवधि बाँकी रहेको पासपोर्ट हुनुपर्नेछ । यसअघि इजरायलमा गई काम नगरेको हुनुपर्ने तथा बुबा, आमा, पति, पत्नी, छोरा वा छोरी इजरायलमा बसोबास वा कार्यरत नरहेको हुनुपर्नेछ ।
त्यसैगरी आवेदक शारीरिक तथा मानसिक रूपमा स्वस्थ हुनुपर्ने र क्षयरोग, हेपाटाइटिस, मिर्गौला, गोनोरिया, एड्सलगायतका रोगबाट संक्रमित नभएको हुनुपर्नेछ ।
छनोट प्रक्रिया लटरीबाट
आवेदन स्वीकृत भएका उम्मेदवारको सूची पीबामा जाँचको लागि पठाइने छ । त्यसपछि सफल उम्मेदवारको सूची विभागको वेबसाइटमा प्रकाशित गरिनेछ र सम्बन्धित स्वास्थ्य संस्थाबाट तोकिएबमोजिम स्वास्थ्य परीक्षण गरिनेछ ।
इजरायलको पीवाले कुल संख्याको करिब ८० प्रतिशत कामदार चिठ्ठा अर्थात् लटरीमार्फत छनोट गर्ने छ। लटरीमा छनोट नभएका उम्मेदवारलाई रोजगार प्रक्रियामा समावेश गर्न नसकिने सूचनामा भनिएको छ ।
छनोट भएका कामदारको रोजगार सम्झौता हस्ताक्षरका लागि विभागले सहजीकरण गर्नेछ । रोजगार सम्झौता भएपछि विभागबाट श्रम स्वीकृति प्रदान गरिनेछ ।
तलबसहित विभिन्न खर्च रोजगारदाताले बेहोर्ने
सूचनाअनुसार इजरायलमा कामदारले मासिक ६ हजार ६४३.५४ इजरायली मुद्रा तलब पाउनेछन्। जसको नेपाली रुपैयाँ ३ लाख २३ हजार रुपैयाँ हुने छ ।
कामदारले प्रत्येक हप्ता कम्तीमा एक दिन बिदा पाउने र वार्षिक बिदाको व्यवस्था पनि गरिएको छ । कामदारको आवास रोजगारदाताले सम्बन्धित नियमअनुसार व्यवस्थापन गर्नेछ। खाना सुविधा भने कामदार स्वयंले व्यहोर्नुपर्नेछ ।
कामदारको नाममा रोजगारदाताले मासिक पारिश्रमिकको १२.५ प्रतिशत बराबरको रकम जम्मा गर्ने व्यवस्था छ । सम्झौता अवधि समाप्त भएपछि इजरायल छाड्ने कामदारलाई उक्त रकमसमेत उपलब्ध गराइने उल्लेख छ । यस्तै, स्वास्थ्य बीमा, आवास तथा खाना खर्च, सम्पत्तिकर, पानी, बिजुली महसुल र अन्य आवश्यक खर्चसम्बन्धी व्यवस्था पनि सूचनामा उल्लेख गरिएको छ ।
आवेदकले हवाई भाडा, स्वास्थ्य परीक्षण, अंग्रेजी भाषा परीक्षण, राहदानी, कोभिड–१९ पीसीआर परीक्षण, वैदेशिक रोजगार कल्याणकारी कोष तथा सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ ।
इजरायल जानुअघि छनोट भएका कामदारले राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीबाट अभिमुखीकरण तालिम लिनुपर्नेछ । विभागले आवेदनसँग पेश गरिएका विवरण वा कागजात झुटा ठहरिएमा आवेदन जुनसुकै समयमा रद्द गरी कानुनबमोजिम कारबाही गर्न सकिने चेतावनीसमेत दिएको छ ।
प्रतिक्रिया