नागढुङ्गा सुरुङ मार्ग फागुन २३ भित्र ब्रेक थ्रु

२०८० माघ २३ गते

नागढुङ्गा सुरुङ मार्ग फागुन २३ भित्र ब्रेक थ्रु

काठमाडौं । नागढुङ्गामा निर्माणाधीन सुरुङ मार्गको टनेल ‘ब्रेक थ्रु’को चरणमा पुगेको छ। आगामी फागुन २३ गते नागढुङ्गा सुरुङ मार्ग ‘ब्रेक थ्रु’ हुने आयोजनाले जनाएको छ ।

Advertisement:

Ad
Ad

नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाका सिनियर डिभिजलन इन्जिनियर गोविन्द दुमरुका अनुसार ‘ब्रेक थ्रु’ हुनका लागि अब मात्र ३२ मिटर बाँकी रहेको छ ।

उनका अनुसार फागुन २३ गते  ‘ब्रेक थ्रु’ हुने सम्भावना रहेको छ। उनले भने, “अहिले काम अगाडि बढिरहेको छ। सबै कुरा यथावत् रहे र काम यही गतिमा सञ्चालन भई आगामी मार्च ६ अर्थात् फागुन २३ मा सुरुङ ‘ब्रेक थ्रु’को सम्भावना रहेको छ ।” सुरुङ्गमार्गमा गाडी कुदाउन भने अझै एक वर्ष कुर्नुपर्ने हुन्छ । सुरक्षात्मक संरचना, बत्ती जडान,फिनिसिङ् लगायतका कामहरू बाँकी नै रहेकाले गाडी कुदाउन भने ‘ब्रेक थ्रु’ भइसकेपछि एक वर्ष कुर्नुपर्ने दुमरुको भनाइ छ । यहाँ दुई हजार ६८८ मिटर सुरुङ निर्माण हुँदैछ।

यो सुरुङमार्ग ‘ब्रेक थ्रू’ भएपछि नेपाल आधुनिक सुरुङ मार्गमा पहिलो पटक प्रवेश गर्नेछ ।

जमिन कमजोर हुने डर

बाँकी रहेको ३२ मिटर सुरुङ छिचोल्नको लागि जमिनको भित्री भागमा कुनै समस्या आउने हो कि भन्ने चिन्ता छ ।

यसअघि पनि सुरुङ खन्ने क्रममा जमिनको भित्री भाग कमजोर परेको कारण सुरुङ निर्माण कार्य केही समय रोकिएको थियो । सोही डर अहिले पनि रहेको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर दमरुले बताए ।

उनले भने, “अब खन्न बाँकी रहेको ३२ मिटर सुरुङ कमजोर जमिन पर्छ कि भन्ने चिन्ता छ। बिचमा केही समय पनि कमजोर जमिन पर्दा केही समय काम रोकियो। अहिले पनि जमिन कमजोर पार्छ कि भन्ने डर छ ।”

दुमरुका अनुसार यस आयोजनाको रेस्क्यू टनेलको भने ‘ब्रेक थ्रु’ भइसकेको छ । यहाँ दुई हजार ५५७ मिटर लामो रेस्क्यू टनेल रहेको छ। जसको ७ अगष्ट २०२३ का दिन ‘ब्रेक थ्रु’ भएको हो । टनेलको कुल भौतिक प्रगति ९६.४० प्रतिशत पुगेको छ । अब ३.६० प्रतिशत मात्र भौतिक प्रगति बाँकी रहेको आयोजनाले जनाएको छ ।

टनेलसहित सबै संरचनाको भौतिक प्रगति भने ६९.१५ प्रतिशत पुगेको आयोजनाले जनाएको छ । यहाँ टनेलसँगै अन्डरपास, बक्स कल्भर्ट, ओभरपास, पुल र फ्लाइओभरको काम जारी छ ।

यो आयोजनाको अध्ययन सन् २०१४ मा भएको हो । सन् २०१६ मा स्रोत सुनिश्चित भएपछि सन् २०१७ मा डिजाइनको काम सुरु भएको थियो । जापानी ठेकेदार कम्पनी हाजमा–आन्द्रो जेभीले यस आयोजनामा काम गरिरहेको छ । यो कम्पनी कोटेश्वर–सूर्यविनायक खण्ड विस्तार तथा बिपी राजमार्ग निर्माणमासमेत सफल भएको थियो ।

सामाजिक समस्या कायमै 

नागढुङ्गा सुरुङ मार्ग निर्माण कार्यको ‘ब्रेक थ्रु’ हुने भए पनि सम्पूर्ण काम सक्न भने केही सामाजिक समस्या रहेका छन्  केही मुआब्जाको समस्या भएको आयोजनाका सिनियर डिभिजन इन्जिनियर दुमरुले बताए ।

सुरुङ मार्गको पश्चिमतर्फको ९५ प्रतिशत मुआब्जा विवरण समाधान भएको छ। यस्तै काठमाडौँ तर्फको ८५ प्रतिशत मुआब्जा वितरण सकिएको उनको भनाइ छ ।

यस्तै सुरुङ खन्ने क्रममा स्थानीयको घर भासिएकाले स्थानीयको अवरोध रहेकाले यसलाई कसरी समाधान गर्न पनि समस्या रहेको उनको भनाइ छ ।

यस्तै सुरुङ मार्गको पूर्वतर्फ पानीको मूल सुकेको भन्दै अवरोध रहेकाले यसलाई सल्टाउन केही चुनौती रहेको उनको भनाइ छ।

दिगो विकास समितिमा सुरुङ मार्गको प्रगतिबारे छलफल 

मंगलबार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समिति बैठकमा सुरुङ मार्गको  प्रगतिबारे छलफल भएको छ । छलफलमा नागढुङ्गा सुरुङ आयोजनाका उपनिर्देशक गोविन्द डुमरुले सुरुङ मार्गको प्रगति र समस्याका विषयमा भनाइ राखेका थिए ।

बैठकमा राष्ट्रिय सभा सदस्य रमेशजङ रायमाझीले समितिलाई आयोजनाले झुटो बोलेको आरोप लगाए । उनले समितिलाई आयोजनाले ठगिरहेको भन्दै वर्तमान प्रविधिको युगमा समेत समितिलाई यथार्थ जानकारी दिन नसक्नु राम्रो नभएको बताए । उनले २०८०/८१ भित्र निर्माण सम्पन्न गर्ने सम्झौताअनुसार समयमा निर्माण सम्पन्न नहुँदा लागत बढ्ने उनको भनाइ छ ।

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सुरुङ मार्ग निर्माणमा जग्गाको स्वामित्व विवाद, घरहरू चर्कने, पानीको मुहान सुक्नेलगायत समस्यालाई समाधान गर्नुपर्नेमा जोड दिए ।  उनले सुरुङ निर्माणको काम समयमा नै सम्पन्न गर्नु आवश्यक रहेको बताए ।