ऊर्जा मन्त्री खड्काले एक बर्षमा गरेको काम सुनाउदै भने, 'म आएपछि ६३१ मेगावाट विद्युत आयोजनाको निर्माण सकिएर कुल जडित क्षमता ३८७८ मेगावाट पुगेको छ'

२०८२ साउन ०१ गते

ऊर्जा मन्त्री खड्काले एक बर्षमा गरेको काम सुनाउदै भने, 'म आएपछि ६३१ मेगावाट विद्युत आयोजनाको निर्माण सकिएर कुल जडित क्षमता ३८७८ मेगावाट पुगेको छ'

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले आफ्नो एक वर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गरेका छन् । बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खड्काले विद्युत उत्पादन, प्रसारण, वैकल्पिक ऊर्जा, सिँचाइ तथा नीतिगत सुधारका क्षेत्रमा मन्त्रालयले गरेको उपलब्धि प्रस्तुत गरेका हुन् ।


मन्त्री खड्काले २०८१ असार ३१ गते ऊर्जा मन्त्रालयको नेतृत्व सम्हालेका थिए । उनले पहिलोपटक सार्वजनिक ‘ऊर्जा विकास मार्गचित्र २०८१’ अनुसार आगामी १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको जानकारी दिए । सो लक्ष्य अनुसार १५ हजार मेगावाट विद्युत भारत र बंगलादेशमा निर्यात गर्ने र बाँकी १३ हजार ५०० मेगावाट स्वदेशमै खपत गर्ने योजना रहेको छ ।

Advertisement:

Ad
Ad


कार्यकालको एक वर्षमा कुल ६३१ मेगावाट विद्युत आयोजनाको निर्माण सम्पन्न भई कुल जडित क्षमता ३८७८ मेगावाट पुगेको मन्त्री खड्काले जानकारी दिए । यसमध्ये ४३४ मेगावाट ग्रिडमा आवद्ध भइसकेको र १९६ मेगावाट परीक्षणको चरणमा रहेको छ । वैकल्पिक ऊर्जाबाट थप ९१ मेगावाट उत्पादन भएको छ ।


वर्षायाममा भारतमा ८५० मेगावाट विद्युत निर्यात र सुख्खायाममा ६७० मेगावाट आयात गरिएको छ । आ.व. २०८१/८२ मा २३ सय ३२ गिगावाट घण्टा विद्युत निर्यात गरिएको छ, जसबाट करिब १७ अर्ब रुपैयाँ आम्दानी भएको छ । यसै अवधिमा बंगलादेशसँग पहिलोपटक ४० मेगावाट विद्युत डलर भुक्तानीमा निर्यात सुरु गरिएको छ, जसबाट पाँच महिनामा १ अर्ब २५ करोड रुपैयाँ राजस्व प्राप्त भएको छ ।


ऊर्जा मन्त्रालयले विगत एक वर्षमा विद्युत, जलस्रोत, नवीकरणीय ऊर्जा तथा सिंचाइसम्बन्धी विधेयक संसदमा अघि बढाएको छ । ‘ऊर्जा विकास मार्गचित्र २०८१’ अन्तर्गत ४६.५ अर्ब अमेरिकी डलर बराबरको लगानी आवश्यक पर्ने आँकलन गरिएको छ । त्यसका लागि थिमेटिक उपसमिति समेत गठन गरिसकिएको छ ।
एक वर्षको अवधिमा १७ हजार ३०८ हेक्टर जमिनमा सिंचाइ पूर्वाधार विकास भएको छ। हालसम्म कुल १५ लाख ८६ हजार ३४० हेक्टर जमिन सिंचित छ । प्रमुख आयोजनाहरू महाकाली, भेरी–बबई, रानी जमरा, सिक्टा, सुनकोशी–मरिन, बबई लगायतमा कार्य अघि बढाइएको छ । 


एक वर्षमा ३०० सर्किट किलोमिटर प्रसारण लाइन र ७०० एमभीए क्षमताका सबस्टेशन निर्माण सम्पन्न गरिएको छ । हालसम्म कुल ६८०० सर्किट किलोमिटर प्रसारण लाइन र १३ हजार ७५४ एमभीए क्षमताका सबस्टेशन निर्माण भइसकेका छन् ।


मन्त्रालयले ८७ सय ७६ मेगावाट बराबरका १४७ जलविद्युत आयोजनाको सर्वेक्षण अनुमति दिएको छ । त्यस्तै १० हजार ८५० मेगावाट क्षमताका २७७ आयोजनाको उत्पादन अनुमति जारी गरिएको छ । ऊर्जा क्षेत्रका विविध परियोजनाका लागि करिब १ अर्ब अमेरिकी डलर बराबरको अनुदान तथा ऋण सुनिश्चित भएको छ । चीनसँग चिलिमे–जिलोंग २२० केभी प्रसारण लाइन सहकार्यमा अघि बढाइएको छ ।