२०८२ चैत ०८ गते
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिना साउनदेखि फागुनसम्ममा पेट्रोलियम पदार्थको आयातमा परिमाण र मूल्य दुवैमा उल्लेखनीय वृद्धि देखिएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार, यस अवधिमा कुल २ खर्ब ९ अर्ब ९९ करोड ९४ लाख ५१ हजार बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको कुल २ खर्ब ६ अर्ब ३७ करोड ५८ लाख २२ हजार रुपैयाँको आयात भएको छ । अघिल्लो वर्षको आयात मूल्यको तुलनामा चालु वर्षको १.७६ प्रतिशतले बढी हो ।
पेट्रोल, डिजेल, मट्टीतेल, फर्नेस आयल, एलपीजी, लुब्रिकेटिङ आयल, कोइला तथा बिटुमेनसहितका विभिन्न पेट्रोलियमजन्य उत्पादनहरूको आयातमा यो विशाल रकम खर्च भएको हो । यी पदार्थहरू नेपालको यातायात, उद्योग, कृषि र घरायसी उपभोगका लागि अपरिहार्य भए पनि यिनको बढ्दो आयातले राष्ट्रिय अर्थतन्त्रमा ठुलो भार थपेको छ ।
चालु वर्षमा अन्य पेट्रोलियम पदार्थ आयातमा सामान्य बढेको देखिए पनि खाना पकाउने ग्यास (एलपीजी) आयात घटेको विभागको तथ्याङ्कमा उल्लेख छ ।
यसमध्ये सबैभन्दा धेरै डिजेल आयात भएको छ । अघिल्लो वर्ष ७८ अर्ब ८६ करोड ३७ लाख ४५ हजार रुपैयाँको डिजेल आयात भएकोमा चालु वर्ष यो ३.९५ प्रतिशतले बढेर ८२ अर्ब १० करोड ५१ लाख ६ हजार रुपैयाँको आयात भएको छ ।
परिमाणको तुलना हेर्ने हो भने डिजेल आयात २.८० प्रतिशतले बढेको छ । चालु वर्ष ८ लाख ९६ हजार ४ सय ४८ किलोलिटर डिजेल आयात भएकोमा अघिल्लो वर्ष ८ लाख ७१ हजार ३ सय ९९ किलोलिटर आयात भएको थियो, जसले २.८० प्रतिशतको वृद्धि देखाउँछ ।
अघिल्लो वर्ष ४२ अर्ब ८० करोड १७ लाख १३ हजार रुपैयाँको पेट्रोल आयात भएकोमा चालु वर्ष यो २.४९ प्रतिशतले बढेर ४३ अर्ब ८९ करोड ७३ लाख ७८ हजार रुपैयाँको आयात भएको छ ।
प्रतिक्रिया